राजनीति जनताको सेवा, भरोसा र प्रतिनिधित्वको माध्यम हुनुपर्ने हो। तर आजको यथार्थ के देखिन्छ भने राजनीति सेवा होइन, सौदा बन्दै गएको छ।
सत्ता प्राप्तिको भर्याङ बनेको छ,जहाँ पार्टी टिकट किन्न सकिने वस्तु जस्तो व्यवहार भइरहेको छ।
नयाँ भनिनेहरू आउँछन्, पुराना भनिनेहरू दोहोरिन्छन्।
झण्डा फेरिन्छ, नारा फेरिन्छ, अनुहार फेरिन्छ—
तर प्रवृत्ति उस्तै रहन्छ। सिद्धान्त भाषणमा सीमित छन्,
आदर्श पोस्टरमा सजिएका छन्,तर व्यवहार सत्ता, पहुँच र स्वार्थको वरिपरि मात्रै घुमिरहेको छ।
राजनीति विचारको लडाइँ हुनुपर्ने हो।देशलाई कुन बाटो लैजाने भन्ने बहस हुनुपर्ने हो। तर अहिले राजनीति पैसा, शक्ति र पहुँचको खुला प्रतिस्पर्धा मा झरेको छ। जनताको पीडा भाषणमा प्रयोग हुन्छ,तर निर्णय सधैं बन्द कोठाभित्र हुन्छ।जनता सहभागी होइनन्,जनता केवल मतदाता र भीड बनाइएका छन्।
गम्भीर प्रश्न यहीँ छ !
राजनीति जनताका लागि हो कि सत्ताका लागि?
यदि राजनीति सत्ता मात्रै हो भने जनता भोट बैंकबाहेक केही होइनन्। चुनावको बेला सम्झिने,जितेपछि बिर्सिने संख्या मात्रै हुन्। तर यदि राजनीति जनताका लागि हो भने
सत्ता उद्देश्य हुनै सक्दैन। सत्ता त सेवा गर्ने साधन हो,
लुट्ने औजार होइन।विडम्बना के छ भने त्याग, बलिदान र संघर्षको इतिहास बोकेका दलहरू आज आफ्नै इतिहासको अपमान गरिरहेका छन्। सहिदको नाम बेचेर स्वार्थको राजनीति गर्नु नैतिक पतनको सबैभन्दा तल्लो तह हो।
आज निर्णय जनताले गर्ने दिन सायद आएको छैन।
तर भोलिको इतिहास आजका नियत, आचरण र निर्णयले लेखिँदैछ। समयले सबैको हिसाब लिन्छ। को सेवा गर्न आएको हो र को शासन गर्न। राजनीतिलाई फेरि
जनताको भरोसाको माध्यम बनाउने कि सत्ताको खेलमै सीमित राख्ने ? यो प्रश्नबाट अब कसैले भाग्न सक्दैन।
तर जनताले सहि लिडर चुन्न सकेन भने ठूलै समस्याको सामना गर्नुपर्नेछ यश कुरालाई मध्य नजर गरे असल लिडर चुन्न सक्नुपर्ने समय आएकाे छ ।







