भेनेजुएलामाथि सैन्य हमला गरेर राष्ट्रपति निकोलस मादुरोलाई कब्जामा पारेपछि अमेरिकाले अब कुन कानुनी, कूटनीतिक र राजनीतिक प्रक्रिया अघि बढाउँछ भन्ने विषय अन्तर्राष्ट्रिय रूपमा चासोको केन्द्र बनेको छ । अमेरिकी अधिकारीहरूका अनुसार मादुरोमाथि लामो समयदेखि लाग्दै आएका लागुपदार्थ तस्करी, आतंकवादी समूहसँग सहकार्य र भ्रष्टाचार सम्बन्धी मुद्दाहरू अब निर्णायक चरणमा प्रवेश गर्ने सम्भावना छ । मादूरोलाई अमेरिकी सैन्य कस्टडीमा राखिएको छ ।
अमेरिकाको न्याय विभागले मादुरोमाथि सन् २०२० मै ‘नार्को–टेररिजम’ लगायतका गम्भीर अभियोग दायर गरिसकेको थियो । ती अभियोगअनुसार मादुरो र उनका सहयोगीहरूले भेनेजुएलालाई लागुऔषध तस्करीको मार्गका रूपमा प्रयोग गरेको र अमेरिका लक्षित कोकेन आपूर्तिमा संलग्न रहेको आरोप छ ।
अब उनलाई न्यूयोर्कको संघीय अदालतमा उपस्थित गराइनेछ। अमेरिका मात्र होइन, अन्तर्राष्ट्रिय आपराधिक अदालतमा पनि मादुरो प्रशासनमाथि मानव अधिकार उल्लंघन, राजनीतिक दमन र गैरन्यायिक हत्या सम्बन्धी उजुरीहरू विचाराधीन छन् । वाशिङ्टनले युरोपेली संघ र ल्याटिन अमेरिकी साझेदारहरूसँग समन्वय गरेर यी मुद्दाहरूलाई अन्तर्राष्ट्रिय तहमा अघि बढाउने तयारी गरेको कूटनीतिक स्रोतहरू बताउँछन् ।
सम्पत्ति जफत र थप प्रतिबन्ध
अमेरिकी ट्रेजरी विभागले मादुरोसँग सम्बन्धित विदेशस्थित सम्पत्ति, बैंक खाता र व्यापारिक नेटवर्क पहिचान गरी जफत गर्ने प्रक्रिया तीव्र बनाउने संकेत दिएको छ । यससँगै, उनका सहयोगीहरू र भेनेजुएलाको नयाँ नेतृत्वमाथि पनि थप प्रतिबन्ध लगाउने विकल्प खुला राखिएको छ । मादुरो पक्राउपछि उपराष्ट्रपति डेल्सी रोड्रिगेज कार्यवाहक नेतृत्वमा आए पनि, वाशिङ्टनले स्वतन्त्र र निष्पक्ष चुनावको स्पष्ट समयरेखा नआएसम्म पूर्ण मान्यता नदिने संकेत गरेको छ। डेल्सी पनि मादूरो प्रशासनकै एक सशक्त नेतृ भएकाले उनीमाथि पनि अमेरिका र युरोपेली युनियनको प्रतिबन्ध छ ।
अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “भेनेजुएलामा दिगो स्थिरता र लोकतन्त्रका लागि कानुनको शासन र जनताको मत सर्वोपरि हुनुपर्छ।”मादुरो पक्राउसँगै अमेरिका अब कानुनी अभियोग, सुपुर्दगी, अन्तर्राष्ट्रिय दबाब र राजनीतिक संक्रमण-यी चारवटै मोर्चामा एकसाथ अघि बढ्ने तयारीमा देखिन्छ । यसले भेनेजुएलाको भविष्य मात्र होइन, ल्याटिन अमेरिकी भू-राजनीतिमा पनि गहिरो प्रभाव पार्ने विश्लेषकहरूको निष्कर्ष छ।
अब भेनेजुएलाको दिशा के ?
मादुरो पक्राउ परेपछि देश गम्भीर अनिश्चितताको चरणमा प्रवेश गरेको छ । डेल्सी रोड्रिगेजले राष्ट्रलाई सम्बोधन गर्दै “संवैधानिक व्यवस्था र राष्ट्रिय सार्वभौमिकता जोगाइने” बताएकी छन्। उनले सुरक्षा निकाय, सेना र सरकारी संस्थालाई स्थिरता कायम राख्न आह्वान गरेकी छन्।
तर विपक्षी दल र अन्तर्राष्ट्रिय समुदायले यो परिवर्तनलाई कसरी स्वीकार्छन् भन्ने प्रश्न खुला छ। अमेरिका र युरोपेली देशहरूले रोड्रिगेजलाई पनि प्रतिबन्ध सूचीमा राखेका छन्, जसका कारण कूटनीतिक र आर्थिक चुनौती अझ गहिरिने संकेत देखिन्छ ।
डेल्सी रोड्रिगेज भेनेजुएलाको सत्तारूढ समाजवादी प्रणालीको केन्द्रीय स्तम्भ हुन् । मादुरोपछि नेतृत्व सम्हाल्दै उनले देशलाई स्थिरतातर्फ लैजान सक्छिन् कि अझ गहिरो संकटतर्फ त्यो आगामी दिनहरूले निर्धारण गर्नेछ। अहिलेका लागि भने, भेनेजुएलाको सत्ता उनको हातमा केन्द्रित भएको छ र विश्वको नजर कराकासतर्फ फर्किएको छ।







