
हुम्ला, हुम्लाको सर्केघाड गाउँपालिका–७ रोडिकोटको ठूलो गाउँमा आगलागी हुँदा ५९ लाख ५५ हजार ६० रुपैयाँ मूल्य बराबरको क्षति भएको छ ।
बुधबार साँझ ६ बजे स्थानीयवासी जोखे जैसीको घरबाट सल्किएको आगोले आसपासका छ वटा घर पूर्ण रुपमा र नौ वटा घर आंशिक रुपमा जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको सर्केघाड गाउँपालिका–७ का वडाध्यक्ष कृष्णप्रसाद जैशीले बताउनुभयो । उहाँका अनुसार सर्केघाडस्थित सर्किदेउ प्रहरी चौकीबाट खटिएको प्रहरीको टोली र स्थानीय जनप्रतिनिधिको संयुक्त टोलीले आगलागीबाट भएको क्षति विवरण सङ्कलन गरेको थिए ।
आगलागीबाट हरीभक्त जैसी, मथान जैसी, अनिलाल जैसी, देवीसिङ जैसी र रुपकला जैसीको घर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीले आज बिहान साढे २ बजे आगलागी नियन्त्रणमा लिएको थियो ।
जिल्ला दैवीप्रकोप उद्धार समितिले रोडिकोट आगलागीमा भएको क्षतिको विवरण प्रदेश र सङ्घीय सरकारलाई पठाएको छ । सर्किदेउ प्रहरी चौकी र स्थानीय जनप्रतिनिधिको संयुक्त टोली स्थलगत रुपमा सङ्कलन गरिएको क्षतिको विवरण गृह मन्त्रालयमा पठाइएको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले जानकारी दिएका छन ।







