लघुकथा
शीर्षकः अदृश्य
-“तिमीलाई दुईटा खबर छ ।”
एका बिहानै मलाई फोनले झस्कायो । धेरै दिनपछि अमरले मलाई सम्झेका थिए । उनी बेला–बेला समीरका खुसी ल्याउँथे । समीर एक आदर्शवादी मित्र थिए । उनको प्रशंसा साथीभाइ माझमा चुलिएको थियो । अमेरिकी जीवन अति व्यस्त ! साथीभाइसँग भेटघाट गर्ने मसँग फुर्सदै हुन्नथ्यो ।
मैले जिज्ञासा राखेँ-
-“कस्तो खबर हो मित्र ?”
हालखबर सोधनी गरेपछि उनले धेरै कुरा सुनाए । मनमा एक तमासको चौचौ बढ्यो । अन्त्यमा दुई वटा खबर रोज्न लगाए—सुखद र दुखद । समाचार सुन्ने उत्कण्ठाले एक्कासी मेरो मुखबाट ‘दु:खद’ शब्द निस्कियो ।
अमरले मलिन स्वरमा भन्यो- -“आकाशले सहर छोडेछ ।”
जिज्ञासापूर्वक मैले भनेँ-
“ला…! हो र ? के भएछ उसलाई ? अनि अर्को सुखद कुरा चैँ के हो यार ?”
थमथमाउँदै ऊ बोल्यो-
-“अस्ति पवित्र स्थलमा अश्लील शब्दले पुष्पवृष्टि गर्ने ‘व्यक्तित्व’ थाहा पाइयो नि ! वास्तविकता पत्ता लगाउँदा नररूपी नरपशु पो रहेछन् ।”
म अचम्ममा परेँ । त्यो कुरा मेरो कानलाई विश्वास भएन । किनभने विषय मेरो सहृदयी मित्रको थियो । अनि उनी आदर्शको पात्र पनि । जानी- जानी मैले सोधेँ-
-“को रहेछन् , ती भाग्यमानी महोदय ?”
उताबाट उत्तर आयो-
-”हावाले भरिएको बेलुन जस्तो उडन्ते नबनी आदर्शवान बन्दा के जान्थ्यो र !”
— हेरिस्वर्ग, पेन्सिलभेनिया, संयुक्त राज्य अमेरिका
✍️ नारदप्रसाद आचार्य ‘सुदामा’







