प्रतिनिधिसभा निर्वाचनका लागि आगामी फागुन २१ गतेका लागि तय भएको राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिक सूची बुझाएका छन् । तर, उनीहरूले बुझाएको बन्दसूची हेर्दा यस्तो लाग्छ- समानुपातिक प्रणाली उत्पीडित र सीमान्तकृतका लागि होइन, प्रत्यक्ष चुनावमा जनताबाट पटक–पटक तिरस्कृत र पराजित नेताहरूको ‘सुरक्षित अवतरण’ गर्ने थलो हो ।
मुख्य दलहरूले बुझाएको सूचीमा प्रत्यक्ष चुनावमा पराजयको ‘ह्याट्रिक’ गरिसकेका पुराना अनुहारदेखि भर्खरै सम्पन्न उपनिर्वाचनमा जमानत समेत जोगाउन नसकेका ‘नयाँ’ पात्रहरूले समेत स्थान पाएका छन् ।नेकपा एमालेको बन्दसूचीमा सबैभन्दा रोचक नाम हो- गुरु बराल । ११ औं महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भएका बराल संसदीय निर्वाचनमा ‘पराजयारोहण’को लामो इतिहास बोकेका पात्र हुन् ।
२०५१ सालयता उनले कुनै पनि निर्वाचन जित्न सकेका छैनन् । २०५१ को मध्यावधि चुनावमा मोरङ-६ बाट जितेपछि शुरू भएको उनको संसदीय यात्रा त्यसपछिका ५ वटा चुनावमा लगातार ‘ब्रेक’ लागेको छ ।
२०५६, २०६४ (माओवादीका गोपी अछामीसँग), र २०७० (कांग्रेसका दिलीप गच्छदारसँग)को चुनावमा उनी नमीठो गरी पराजित भए । जनताबाट पटक-पटक अस्वीकृत भएपछि २०७८ मा उनले सुरक्षित ठानिएको राष्ट्रियसभाको बाटो रोजे । तर गोला तान्दा उनी पराजित बन्न पुगे । अहिले उनै बराललाई एमालेले संसद् छिराउन समानुपातिकको उच्च प्राथमिकतामा राखेको छ । यस्तै, २०६४ मा मोरङ क्षेत्र नम्बर ३ बाट तत्कालीन नेकपा माओवादीका सावित्री कुमार काफ्लेसँग पराजित बनेका नरेश पोखरेल पनि बन्दसूचीमा छन् ।
खोटाङबाट उषाकला राई बन्दसूचीमा परेकी छन् । उषाकला कोशी प्रदेशकी पूर्वमन्त्री हुन् भने संविधान सभाकी सदस्य विष्णुमाया विश्वकर्मा पनि फेरि समानुपातिकको बन्दसूचीमा परेकी छन् ।
पाँचथरबाट ४७ मतको झिनो अन्तरले एमालेका वसन्त नेम्वाङसँग पराजित भएका नेपाली कांग्रेसका सह–महामन्त्री भीष्मराज आङ्देम्बेले पनि प्रत्यक्ष चुनावमा फेरि उत्रिने हिम्मत नगरी समानुपातिकको बाटो रोजेका छन् ।
यस्तै, कांग्रेसको सूचीमा केन्द्रीय सदस्य बलबहादुर केसीकी श्रीमती रिना उप्रेतीको नाम पनि अटाएको छ ।
पुरानोलाई नराम्रो, नयाँलाई राम्रो भन्ने नारा दिएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि यही विकृतिमा लिप्त देखिएको छ । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत समेत ल्याउन नसकी जमानत जफत भएका मिलन लिम्बूलाई रास्वपाले समानुपातिकको बन्दसूचीमा राखेको छ ।
उपनिर्वाचनमा ५ हजार ५० मत मात्र पाएर लज्जास्पद हार बेहोरेका लिम्बूलाई संसद् पुर्याउन पार्टीले प्राथमिकता दिएको छ ।
रास्वपाको कोशी प्रदेशको सूची अर्को कारणले पनि रोचक छ । नागरिकता कोशीको भए पनि काठमाडौंमा बसोबास गर्ने र त्यहीँ राजनीति गर्नेलाई कोशीको कोटाबाट सूचीमा हालिएको छ ।
काठमाडौंमा रञ्जु दर्शनाका नामले चिनिएकी रञ्जु न्यौपानेको नाम मोरङबाट सिफारिस गरिएको छ । मोरङबाट मात्रै १५ जनालाई समेटिँदा ताप्लेजुङका रमेश प्रसाईं र झापाकी टीका संग्रौला पनि सूचीमा छन् ।
यद्यपि, कोशीका १४ जिल्लामध्ये सङ्खुवासभा, तेह्रथुम, धनकुटा र उदयपुरबाट भने रास्वपाले कसैलाई पनि समेटेको छैन । रास्वपाको सूचीमा ज्ञानेन्द्र मल्ल, त्रिसाला गुरुङ र अनुष्का श्रेष्ठ जस्ता ‘सेलिब्रेटी’ अनुहार पनि मोरङकै कोटामा देखिएका छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कोशी प्रदेशबाट समानुपातिकतर्फ १३ जनाको नाम समावेश गरेको छ । सोमबार निर्वाचन आयोगमा बुझाइएको समानुपातिकतर्फका ११० उम्मेदवारको सूचीमा कोशी प्रदेशका १३ जना परेका हुन् ।
सूचीमा सोलुखुम्बुकी करुणा बस्नेत र सुनसरीका सावित्री पोखरेलको नाम खसआर्य महिलातर्फ रहेको छ । विनोद कटुवाल र राजमणी पोखरेलको नाम ममता राजवंशी,सुनिता बुढा मगर, कल्पना लिम्बू र निर्मला श्रेष्ठ,भरतकुमार श्रेष्ठ, दंगध्वज खोयाहाङ, भोजपुरका कृष्णकुमार राई,पासाङ शेर्पा र अभिमन्यु यादवको नाम रहेको छ ।मन्त्री भएका तथा पुराना अनुहारलाई स्थान नदिएको नेकपाले जनाएको छ ।







