देश जलाउने तत्व नै अहिले सत्ताको कुर्सीमा बस्ने तमासा भइरहेको नेकपा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले टिप्पणी गरेका छन् । अहिले सत्तामा रहेकाहरू भदौ २४ गते मैदानमा देखिएको उनको भनाइ छ ।
आइतबार काठमाडौंमा युवा संघको तेस्रो विस्तारित बैठकलाई सम्बोधन गर्दै ओलीले देश जलाउनेहरू देश चलाउने ठाउँमा पुग्नु तमासा भएको बताएका हुन् । ‘यतिबेला देश जलाउने पनि, चलाउने पनि तिनै । एउटा तमासा भइरहेको छ । जसले जलाउने, त्यसैले चलाउने, त्यस्तो तमासा भइरहेको छ । जलाउने पनि यिनै थिए, मैदानमा देखिएका थिए, मैदानमा एक/एक फिट माथि बुरुक्क उफ्रिएको देखिएको थियो । अहिले चलाउनेमा पनि कुर्सीमा विराजमान तिनै तत्व देखिएका छन्, संविधानले मिल्दै मिल्दैन भनिएका तत्वहरू,’ ओलीले भने ।
ओलीले नामै नलिई प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालतर्फ लक्षित गर्दै भदौ २४ गते देश जलाउनेको पछि-पछि देखिएको टिप्पणी गरेका हुन् ।
लोकतन्त्रको अपहरण भएकोले पुनःस्थापित गर्न युवाहरू सडकमा आउनु पर्ने स्थिति बनेको ओलीले बताए । ‘संविधान खारेज भनिएको छैन, मिचिएको छ । सर्वोच्च जनप्रतिनिधि संस्था केही अनधिकृत व्यक्तिहरूले सडक छापहरूले विघटन भनेर सिफारिस गरेर त्यसलाई सदर गरियो अलोकतान्त्रिक र असंवैधानिक क्रियाकलाप भएको छ । त्यसलाई ठीक ठाउँमा फर्काउनु परेको छ,’ ओलीले भने ।
ओलीले भदौ २३–२४ को घटनापछि देशमा त्रासको वातावरण सृजना भएको भन्दै कानूनी शासनमा फर्काउने कामको जिम्मा एमालेले लिने बताए । ‘अब कसैका घर जलाउन, उद्योगमा आगो लगाउन र डिपार्टमेन्ट स्टोर लुट्न दिइने छैन,’ ओलीले भने, ‘सुरक्षाकर्मीलाई प्यारालाइज गरियो, त्यस कारण जनताको सुरक्षा एमालेले गर्छ ।’







