
गत भदौ २३ र २४ गतेको घटनालाई लिएर कांग्रेस निकट नेपाल विद्यार्थी संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएको छ । आज काठमाडौं र ललितपुर प्रहरी कार्यालयमा जाहेरी दिइएको हो ।
जेनजी आन्दोलनपछिको परिस्थितिबारे छलफल गर्न हिजो नेविसंघ केन्द्रीय समिति वैठक बसेको थियो । उक्त वैठकले बालेन र सुधनविरुद्ध देशव्यापीरुपमा जाहेरी दिने निर्णय गरेको छ ।
नेविसंघका केन्द्रीय सदस्य अशोक सिंह विष्टले काठमाडौं प्रहरी परिसरमा दिएको जाहेरीमा साह र गुरुङमाथि युवा विद्यार्थीहरुलाई उकासेर सर्वसाधारणको ज्यानसमेत जाने गरी मुठभेड गराएको आरोप लगाइएको छ ।
निजहरुले देशका राष्ट्रिय सम्पदाहरु, भवन संरचनाहरु तथा सरकारी कार्यालयका सामान र कागजातहरु लुटपाट गरी चलअचल सम्पत्ति नष्ट गरेको र र उक्त सम्पत्ति नष्ट गर्नुपर्छ भनि मानिसहरुलाई उक्साएको दावी गरिएको छ ।
नेविसंघले जाहेरी दर्ताका लागि २४ घन्टाको अल्टिमेटम दिएको छ । २४ घन्टाभित्र जाहेरी दर्ता नभएको खण्डमा आफूहरु सडकमा उत्रिने चेतावनी दिएर आएको बिष्टले बताए ।
यसअघि एमाले निकट अनेरास्ववियूले बालेन र सुधनविरुद्ध देशका विभिन्न जिल्लामा जाहेरी दिएको छ ।









