
जेनजीको प्रदर्शनले सोमबार काठमाडौँको जनजीवन अस्तव्यस्त बनेको छ। सुरुमा नयाँ बानेश्वरबाट चर्किएको आन्दोलन सहरका अधिकांश ठाउँमा पुगेको छ। नयाँ सडकमासमेत ढुंगामुढा र तोडफोड भएको छ।
सोमबार बिहान माइतीघर मण्डलाबाट सुरु भएको उक्त प्रदर्शन निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वर क्षेत्रमा प्रवेश गरेपछि अराजक बनेर तोडफोड र आगजनीमा उत्रिएको थियो। नेपाल प्रहरीले सुरक्षा नियन्त्रणमा लिन दर्जनौँ सेल अश्रुग्यास र हवाई फायर गर्नुपरेको थियो। त्यसको प्रभाव साँझपख न्युरोड क्षेत्रमा परेको हो। मुलसडकमा ढुंगामुढा भएपछि व्यापारीले सबै सटर बन्द गरेका छन्। केही समय बजार क्षेत्रमा भागदौड मच्चिएको थियो।
जेनजी पुस्ताको आन्दोलनका कारण आज देशभर गरेर १९ जनाको मृत्यु भएको छ। काठमाडौँमा १७ र इटहरीमा २ गरी १९ जनाको मृत्यु भएको हो। काठमाडौँ उपत्यकाको प्रदर्शनमा मात्रै २५६ जना घाइते भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ। नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा जेनजी प्रदर्शनमा घाइते भएका १३५ जनाको उपचार भइरहेको छ।







