
इलाम, नयाँ रोगले अकबरे खुर्सानी सखाप भएपछी अहिले इलामका किसान चिन्तित बनेका छन । व्यवसायिक रुपमा खेती लगाएका किसान रोगले सखाप बनाएपछी उत्पादनमा निकै असर परेको छ । अकबरेको डाँठ कुहिने र बोट ओइलाउँदै जाने एउटा रोग देखिएको छ भने अर्को अकबरेको जरा ओइलाउने र एक्कासी कुहिने रोग देखिएको हो ।
यस वर्ष रोगले अकबरेबाट आम्दानी आधा हुने इलाम नगरपालिकाका अकबरे किसान डिल्ली चापागाईंको भनाइ छ । गएको वर्ष अकबरेबाट रु डेढ लाख कमाइ भएकामा यस वर्ष रु ५० हजार मात्र हुने उनको अनुमान छ । “डाँठ कालो भएर कुहिने रोगले सबै सखाप पारेको छ ” चापागाईंले भन्नुभयो,“बढी पानी र हुस्से परेकाले होला उत्पादन ह्वात्तै घटेको छ ।” गएको वर्ष एक हजार बिरुवा लगाएकामा करिब डेढ÷दुई सय बिरुवाले मात्र उत्पादन दिँदै गरेको चपागाईंको भनाइ छ ।
किसानले मौसम बदली भएर अकबरे मासिएको भने पनि प्राविधिक र विज्ञले भने नयाँ रोग भित्रिएको बताएका छन् । गत फागुनमा ८०० बिरुवा अकबरे खेती गर्नुभएका सूर्योदय नगरपालिका–९ का किसान एवं प्राविधिक खेमराज भट्टराईले सबै बोट कुहिएको दुखेसो सुनाउनुभयो । रोगले अकबरे सखाप भएपछि अकबरे लगाएको बारीमा फूलगोभी खेती गरिएको भट्टराईको भनाइ छ ।
“फेद कुहिने रोगले अकबरे सबै सकियो”, भट्टराईले भन्नुभयो,“ गएको वर्षसम्म खासै रोग थिएन यस वर्ष एकैचोटि रोग देखियो ।” पराम्परागत विधि अपनाएर खेती गरेकाले नयाँ रोगले आक्रमण गरेको भट्टराईको भनाइ छ ।
नयाँ प्रविधि अपनाउँदा अकबरेमा रोगको सङ्क्रमण कम देखिएको किसान र विज्ञको भनाइ छ । माटोमा प्लाष्टिकको प्रयोग गरेर ड्याङ बनाई खेती गर्दा केही प्रभावकारी देखिएको उनीहरूको भनाइ छ ।







