
काठमाडौं, उत्तर कोरियाले जापानतर्फ मिसाइल प्रहार गरेको छ । मिसाइलबाट जोगिन जापानले आफ्ना नागरिकहरुलाई घरभित्र वा बंकरभित्र रहन आह्वान गरेको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मिसाइलले क्षति भने पुर्याएको छैन । उत्तर कोरियाले मिसाइल प्रहार गरेपछि सुरक्षाका लागि जापानले ‘जे वार्निङ’ जारी गरेको र यो निकै खतरापूर्ण अवस्थामा मात्र जारी हुनेछ ।
यसैगरी जापानका अधिकारीहरुले सुरुमा उत्तर कोरियाको क्षेप्यास्त्र जापान माथिबाट उडेको बताएका थिए । तर रक्षामन्त्री यासुकाजु हमादाले भने जापानी द्वीप समूह पार नगरेको र जापानको सागरमा हराएको बताएका छन् ।
उत्तर कोरियाले बुधबार मात्रै दक्षिण कोरियातर्फ २३ मिसाइल प्रहार गरेको थियो । तीमध्ये एक मिसाइल दक्षिण कोरियाको जल सिमानाको केही टाढा खसेको थियो । यसको जवाफमा दक्षिण कोरियाले लडाकु विमानमार्फत् आकाशबाट जमिनमा आक्रमण गर्न मिल्ने मिसाइल उत्तरकोरियातर्फ प्रहार गरेको थियो ।एजेन्सी







