
काठमाडौं, निर्वाचन आयोगले विना मगरलाई स्पष्टीकरण सोधेको छ । आयोगले नेकपा (माओवादी केन्द्र) बाट कञ्चनपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विना मगरलाई स्पष्टीकरण सोधेको हो ।
अयोगले निर्वाचन क्षेत्र अन्तर्गतको बेलौरी नगरपालिकामा मगरले निर्वाचन आचारसंहिता विपरीत हुनेगरी २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको भन्दै उजुरी परेकाले स्पष्टीकरण सोधिएको हो ।
उनले आफ्नै फेसबुक पेजमा घरदैलो अभियानमा सहभागी भएको भिडियो समेत सार्वजनिक भएको छ ।
स्पष्टीकरणपत्रमा भनिएको छ, ‘उल्लेखित सन्दर्भमा तपाईंबाट निर्वाचन आचारसंहिताको प्रतिकूल हुनेगरी बेलौरी नगरपालिकामा निर्वाचन प्रचारप्रसार तथा घरदैलो कार्यक्रम भएको छैन भन्ने आधार कारण के छ ? तपाईंले निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार तथा घरदैलो कार्यक्रम गरी निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको अवस्थामा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिम कारवाही किन हुनु नपर्ने हो ? यो पत्र कुनै माध्यमबाट तपाईंलाई प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा प्रदेश निर्वाचन कार्यालय कैलालीमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न अनुरोध छ ।’
यसअघि निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ख) मा ‘स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न नहुने’ र खण्ड (ण) मा ‘निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा वा प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थक सहित पच्चीस जना भन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजागाजा तथा झाँकी सहित जान नहुने’ व्यवस्था छ ।







