
क्वालालम्पुर, मलेसियाका प्रधानमन्त्री इस्माइल साब्रि याकोबले संसद विघटन गरिएको घोषणा गरेका छन् । उनले संसद विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गरेका हुन् ।
उनले घोषणा गरेअनुसार आगामी ६० दिन भित्रमा निर्वाचन हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै उनले संसद विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिइसकेको पनि जानकारी दिएका छन् ।
सन् २०१८ को निर्वाचनपछि देशमा अप्रत्यासित विभिन्न घटनाक्रम भएको त्यसले देशको आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नु परेको उनको भनाइ छ ।
सम्बोधनका क्रममा उनले भने, ‘हामीले फेरि जनताको अभिमत लिने निर्णय गरेका छौं। जनताको अभिमत नै सबैभन्दा शक्तिशाली हुन्छ। निर्वाचनबाट प्राप्त जनताको अभिमत अनुसार गर्नेछौं।’ एजेन्सी






