
गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले नेपालको राष्ट्रियता बलियो पार्न नागरिकता विधेयक ल्याइएको दावी गरे। उनले नागरिकता विधेयकको बारेमा गलत विश्लेषण नगर्न सबैलाई आग्रह गरे ।
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले भैरहवामा आयोजना गरेको विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्व २०७९ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले सम्पूर्ण नेपाली नागरिकले नागरिकता पाउनुपर्ने बताए ।
उनले नागरिकलाई नागरिकताबाट वञ्चित गराउनु संविधानको बर्खिलाप हुने बताउदै राष्ट्रपतिबाट नागरिकता बिधेयक प्रमाणिकरण नभएका कारण लाखौं नेपाली नागरिकको भबिष्य अन्यौलमा रहेको बताए ।संविधान अनुसार नै नागरिकता विधेयक ल्याइएको दावी गरे । उनले भने ‘लाखौं नेपाली युवायुवती नागरिकताबाट वञ्चित भएका छन्, नागरिकता प्राप्त आमाबुवाका सन्तान अनागरिक भएर बस्न बाध्य छन्, नागरिकता नभएको कारण असहजताको जीवन बाँच्नुपरेको छ ।’
उनले नागरिकताको समस्या मधेशको मात्र समस्या नभएको बताए । त्यस्तै संसारभर छरिएर रहेका गैरआवासीय नेपाली नागरिकलाई नागरिकता दिन विधेयक ल्याइएको उहाको भनाइ थियो । दुईपटक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित नागरिकता विधेयक संविधान प्रतिकुल नभएको उनको जिकिर छ ।
‘नागरिकता विधेयकबारे राष्ट्रपतिबाट आएको सुझाव सल्लाहलाई सम्मान गरेका छौं, तर उहाँले उठाउनुभएको विषय सम्बोधनका लागि संविधान संशोधन गर्नुपर्छ, त्यसका लागि राष्ट्रिय सहमतिको आवश्यकता हुन्छ ।’
उनले मंसिर ४ गते हुने निर्वाचनमा नेपाली कांग्रेससँगै गठबन्धनलाई जिताउनु आवश्यक रहेको पनि बताबए ।







