
इस्लामबाद, पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले संयुक्त राष्ट्रसंघ महासभामा कश्मीर मुद्दा उठाउँदै भारतसँग आफ्नो देशले शान्ति स्थापनाको र शान्तिपूर्ण व्यवहारको अपेक्षा गरेको बताएका छन् ।
उनले भने, ‘हामी भारतलगायत हाम्रा सबै छिमेकीहरूसँग शान्ति खोज्छौं, दक्षिण एसियामा दिगो शान्ति र स्थिरता चाहेका छौं। तथापि यो कार्य भने जम्बू र कश्मीर विवादको न्यायपूर्ण र दिगो समाधानमा निर्भर रहन्छ ।’
यसैगरी भारत कश्मीरका सम्बन्धमा पुरानो केन्द्र शासित क्षेत्र भारतको अभिन्न अंग हो भन्ने आफ्नो लामो समयदेखि अडानमा अडिग रहेको छ ।
‘भारतले रचनात्मक संलग्नताको लागि सक्षम वातावरण सिर्जना गर्न विश्वसनीय कदमहरू चाल्नै पर्छ। हामी छिमेकी हौं र हामी सधैंभरि त्यहाँ छौं, हामी शान्तिमा बस्ने कि एक अर्कासँग लडिरहने भन्ने छनोट हाम्रो हो,’ पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले महासभामा भनेका छन्।
उनले पहिले भएका तीन वटा युद्धले दुवै देशले दुःख, गरिबी र बेरोजगारीको सामना गर्नुपरेकाले अब शान्तिको विकल्प नभएको बताए।
‘सन् १९४७ यता हामीले तीन वटा युद्ध गरिसकेका छौं। त्यसको फलस्वरूप दुवै पक्षमा दुःख, गरिबी र बेरोजगारी मात्र बढेको छ। अब हाम्रा मतभेद, समस्या र तिनको शान्तिपूर्ण वार्ता र छलफलबाट समाधान गर्ने जिम्मा पनि हाम्रै हो।’एजेन्सी







