
काठमाडौं, महाभियोगको टुंगो नलाग्दै प्रतिनिधिसभाको कार्यकाल सकिएपछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सरकारको निगरानीमा परेका छन्।
प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बन निरन्तर रहने जनाउँदै महाभियोग सिफारिस गरेको भोलिपल्टै आइतबार जबरा पद बहाली गर्न सर्वोच्च अदालत जाने तयारीमा थिए। तर, सुरक्षाकर्मीले निवासबाटै बाहिर निस्कन नदिएपछि सर्वोच्च प्रवेश गर्ने योजना पूरा हुन पाएन। त्यसपछि जबराले राष्ट्रिय मानवअधिकार आयोगलाई गुहारेका थिए।
आयोगको टोली भेटघाट एवं सोधपुछका लागि प्रधानन्यायाधीशको सरकारी निवास बालुवाटार पुगेको थियो। जबराले भेटघाटका क्रममा सर्वोच्च जाने तयारी गर्दा सुरक्षाकर्मीले बिनाकारण निवासबाटै बाहिर निस्कन नदिएको बताएका थिए। आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार जबराको निवासमा आवतजावत गर्ने व्यक्तिको पनि निगरानी गरेको पाइएको छ।
‘हामीले त्यहाँ पुगेर सुरक्षार्थ खटिएका सुरक्षाकर्मीसँग पनि बुझ्यौं। उहाँहरूबाट माथिको आदेशले बाहिर निस्कन रोकावट गरेको भन्ने जानकारी प्राप्त भयो’, सहसचिव डा. पोखरेलले भने, ‘आवासबाट बाहिर निस्कने सवारी साधन चेकजाँचमा कडाइ गरिएको र जबराको सवारी स्कर्टिङ टोलीसमेत हटाइएको पाइएको छ।’
गृह मन्त्रालयका कर्मचारीले भने जबरामाथि निगरानी नगरिएको प्रतिक्रिया दिएका छन्। मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जबरामाथि सुरक्षाकर्मी हटाएको विषयमा आफू अनभिज्ञ रहेको बताए। ‘उहाँ (जबरा)लाई साबिकमा जुन सुरक्षाकर्मी दिइएको थियो त्यो कायमै छ। हटाइएको छैन’, प्रवक्ता पोखरेलले अन्नपूर्ण पोस्ट्सँग आइतबार साँझ भने, ‘मैले बुझेसम्म स्कर्टिङ टोलीसमेत हटाइएको छैन । सुरक्षाकर्मी र स्कर्टिङ टोली हटाएको जानकारी अहिलेसम्म मलाई छैन।’
बालुवाटारस्थित प्रधानन्यायाधीश निवासमा अधिकारकर्मीहरू पुगेका थिए। आयोगले विज्ञप्ति जारी गर्दै वैयक्तिक स्वतन्त्रता, आवतजावत र गोपनीयताको हकको सम्मान गर्न आग्रह गरेको छ। ‘जुनसुकै व्यक्तिको पनि संविधानप्रदत्त वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकारको सम्मान गर्नुपर्ने राज्यको दायित्व हुन आउँछ’, प्रवक्ता डा. पोखरेलले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यस प्रकारको अधिकारहरूमा कुनै पनि बहानामा अवरोध पुग्नु हुँदैन भन्नेमा आयोग दृढ छ।’ संविधान र कानुनमै टेकेर यस प्रकारको गतिरोध अन्त्य गर्न आयोगले सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ।अन्नपूर्ण पोस्टबाट







