
काठमाडौं, थारू समुदायमा महिलाहरुले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत) परेको छ । जितिया पर्व भाद्र कृष्ण पक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ ।
यस अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन् । पर्वको पहिलो दिन सप्तमीलाई ‘लाहा खाएके’ (दर खाने), अष्टमीको दिनलाई ‘उपास’ (व्रत) र नवमीको दिनलाई ‘पारन’ (व्रत समाप्त) भनिन्छ ।
सप्तमीको दिन शनिबार महिला बिहानै उठेर नुहाइ धुवाइ गरी सफा र चोखो कपडा लगाइ बेलको पात टिपेर दिनभर महिला तथा युवतीहरू झाम्टा र गीत गाउँदै यो पर्व मनाएका छन् ।
उनीहरुले भाद्र कृष्ण अष्टमी आजको दिनमा जितिया पर्व मनाउँछन् । थारू अगुवा शिखाराम थनेतका अनुसार जितियामा सामूहिक नाचगान र पूजाआजा हुनेछ ।







