
काठमाडौं, नेपाली कांग्रेसले जयनगर–कुर्था रेलमार्गमा सहिदको स्मृतिमा स्थापना भएको ‘रेल्वे हल्ट’ (प्रतीक्षालय)को नामकरणलाई परिवर्तन नगर्न आग्रह गरेको छ ।
कांग्रेसका नेता डा शेखर कोइरालाले भनेका छन्,“सहिदहरुको योगदानलाई सम्झिन स्थापना गरिएको ती हल्टको नाम परिवर्तन गर्ने काम भएको छ, त्यो अत्यन्तै आपत्तिजनक छ । यो सहिदप्रतिको अपमान हो”, यसलाई कदापि स्वीकार गर्न सकिँदैन ।”
यसअघि रेलमार्ग स्थापनाका बेला सहिद कामेश्वर यादव र कुशेश्वर मण्डलको नाम जोडिएर स्थापना गरिएको ‘सहिद कामेश्वर–कुशेश्वर हल्ट’ र सहिद सरोज कोइरालाको नाममा स्थापना गरिएको ‘सरोजनगर हल्ट’को नाम परिवर्तन गरिएको जनाइएको छ ।
यसैगरी रेलमार्ग स्थापनाको समय धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा सहिद कामेश्वर–कुशेश्वर हल्ट र बिदेह नगरपालिकाको दुहवीमा सहिद सरोजनगर हल्ट स्थापना गरिएको थियो ।
उनले भने, “तर अहिले कामेश्वर–कुशेश्वर हल्टलाई इनरुवा हल्ट बनाइएको छ भने सरोजनगर हल्टको अस्तित्व नै समाप्त पारिएको छ । सहिदको नाम जोडिएर राखिएका दुवै रेल्वे हल्टको अस्तित्व समाप्त पार्ने कार्य हामीलाई स्वीकार्य छैन । यस विषयमा पार्टीले खुलेर बोल्नुपर्छ, यो सहिदप्रतिको सम्मानको कुरा हो ।”







