
बाँके, नेपालगञ्जको भेरी अस्पतालमा डेङ्गुबाट
दुई जनाको मृत्यु भएको छ । अस्पतालमा भर्ना भएका उनिहरुको उपचारका क्रममा मृत्यु भएको हो ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा बद्री चापागाईंका अनुसार बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका–६ कैलाली निवासी १२ वर्षीया बालिकाको उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।
८६ वर्षीय पुरुष भदौ १४ गते र १२ वर्षीया बालिका १९ गते भर्ना भएका थिए । ८६ वर्षीय वृद्धमा दमको कारण स्वासप्रश्वासमा समस्या देखिएकाले सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो । दुवै जनाको उपचारकै क्रममा बुधबार दिउँसो मृत्यु भएको थियो ।
हाल भेरी अस्पतालमा डेङ्गु सङ्क्रमित बिरामी उपचारका लागि आउनेक्रम बढिरहेका छन् ।







