
काठमाडौं, आज साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । बुधबार बजार परिसूचक नेप्से ११.९७ अंक (०.६१ प्रतिशत) ले घटेर १९३९.८८ अंकमा बन्द भएको छ ।
आज नेप्सेसँगै म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट हुँदा कारोबार रकम पनि घटेको छ । नेप्सेसँगै कारोबार रकम पनि अर्बबाट तल झरेको छ ।
यसैगरी बुधबार कारोबार रकम १ अर्बबाट तल झरेको हो । आइतबार १ अर्ब ७ करोडको कारोबार भएको बजारमा सोमबार कारोबार रकम घटेर करिब ९१ करोडमा झरेको थियो । तर, मंगलबार पुनः बढेर १ अर्ब १९ करोड पुगे पनि बुधबार पुनः गिरावट भएको हो ।
आज नेप्सेमा २९ लाख ४३ हजार ७२९ कित्ता सेयर किनबेच हुँदा ८२ करोड ६२ लाख ३० हजार ५८३ रुपैयाँको कारोबार भएको छ । जसमध्ये नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक ५ करोड १५ लाख ६० हजारको कारोबार हुँदा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ करोड ६१ लाख २९ हजारको कारोबार भएको छ ।







