
काठमाडौं, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संसद्को महाभियोग सिफारिस समितिमा बयान दिँदै न्यायालयमा राजनीतिक हस्तक्षेप कसरी हुन्छ र राजनीतिको फेर समातेर न्यायालय कसरी लरबराउँछ भन्ने पोल खोलेका छन्। उनले राजनीतिक स्वार्थसिद्धि नहुने देखेपछि आफूमाथि महाभियोग लगाइएको जिकिर गरेका छन्।
महाभियोगको सामना गरिरहेका जबरा बुधबार मध्याह्न यसरी संसदीय कठघरामा उभिएका हुन्। न्यायिक इतिहासमै पहिलो पटक संसदीय समितिमा बयान दिन पुगेका जबराले चारवटा प्रश्नको जवाफ झन्डै चार घण्टा लगाएर दिए। न्यायालयभित्रको पोल खोले। न्यायालयमा बाह्य हस्तक्षेपको अवगत गराए। सहकर्मी न्यायाधीशदेखि पूर्वप्रधानन्यायाधीशको आलोचना गरे। कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनका पूर्वपदाधिकारी र राजनीतिक दलका नेताहरूविरुद्ध खनिए। नागरिक समाजदेखि मिडियासमेत लागेको गुनासो गर्दै आफू एक्लो बृहस्पति भएको टिप्पणी गरे।
समिति सभापति रामबहादुर विष्टले ४३ वटा प्रश्नको तयारी गरिए पनि जबराले जवाफमा लामो समय लगाएकाले चारवटामा सीमित भएको बताए। उनका अनुसार जबराले एउटै प्रश्नको जवाफ दिन करिब एक घण्टा लगाए। ६ महिनासम्म आफूविरुद्धका आरोप सुनिरहेका जबरालाई उनले गरेका फैसला, आचरण, न्यायालयमा बिचौलियाको प्रवेशलगायत विषयमा समिति सदस्यले प्रश्न गरेका थिए।
जबराले आफूमाथि लगाइएको महाभियोग प्रस्ताव निस्क्रिय भएको जिकिर गरे। ‘महाभियोग प्रस्ताव निस्क्रिय भइसकेको छ। यो प्रस्ताव संविधान र नियमावलीअनुसार संसद्ले पारित गरेन। म संसद्को सम्मानका लागि नागरिकका हिसाबले आएको हुँ’, उनले भने, ‘मैले यहाँबाट न्याय पाउनुपर्छ।’
चारवटा प्रश्नको उत्तार दिन झन्डै चार घण्टा
आफूमाथि लगाइएको महाभियोग प्रस्ताव निस्क्रिय भएको जिकिर गरे
संयुक्त इजलासबाट फैसला हुने भएकाले अन्य न्यायाधीशहरू पनि दोषी रहेको औंल्याए
जबराले आफूमाथिका अभियोगलाई प्रतिनिधिसभा विघटन र नयाँ सरकारको नियुक्तिसँग जोडे। ‘संसद् विघटनको फैसला आउनुअघि महाभियोग सिफारिस किन आएन ? संसद् विघटनअघि म ठीक र संसद् विघटनपछि म बेठीक कसरी भएँ ?’ उनले प्रश्न गरे।
आफूमाथिको महाभियोग प्रतिवाद गर्ने क्रममा उनले प्रतिनिधिसभा पुनःस्थापनामा सहकर्मी न्यायाधीशलाई आश्वासन दिएको खुलासा गरे। जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले २०७८ असार २८ गते प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेको थियो। सर्वाेच्च अदालतले त्यस बेला शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो। फैसलाका क्रममा केही न्यायाधीशलाई आश्वासन दिएको उनले खुलासा गरे। ‘२८ गतेअघि मैले के गरें ? २८ गतेपछि मैले के गरेँ ? र ममाथि प्रस्ताव (महाभियोग) आयो ?’ उनले प्रश्न गरे।
उनले कायममुकायम प्रधानन्यायाधीश कार्कीमा महत्वाकांक्षा जागेपछि आफूविरुद्ध लागेको जिकिर गरे। त्यसपछि सर्वोच्चमा न्यायाधीशबीच गुटबन्दी सुरु भएको दाबी उनले गरे। ‘देउवा नेतृत्वको सरकार बनाउने गरी जारी गरिएको परमादेशकै कारण महाभियोग लगाइएको भए त्यसमा मेरो कमजोरी देखाउनुहोस्’, उनले भने, ‘महाभियोग प्रस्ताव एमालेबाट आउनुपथ्र्यो। गठबन्धनबाट आयो।’
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटनविरुद्ध फैसलामा अन्य न्यायाधीशलाई आश्वासन दिइएको दाबी उनले गरे। कायममुकायम प्रधानन्यायाधीश दीपक कार्कीप्रति उनी खनिए।
समिति सदस्य मीन विश्वकर्माका अनुसार बयानमा जबराले संयुक्त इजलासबाट फैसला हुने भएकाले अन्य न्यायाधीशहरू पनि दोषी रहेको औंल्याए। जबराको भनाइ उद्धृत गर्दै सांसद विश्वकर्माले सञ्चारकर्मीसँग भने, ‘संयुक्त इजलासबाट फैसला भएको हो। त्यसमा दोषी सबै हुनुपर्ने हो। म मात्र किन भएँ ?’
जबराको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सर्वोच्चका न्यायाधीश इजलास बस्न इन्कार गरेका थिए। त्यस्तै पूर्वप्रधानन्यायाधीश, न्यायाधीश र पूर्वन्यायाधीश फोरमले समेत विरोध गर्दै विज्ञप्ति जारी गरेका थिए।
जबराले पूर्वप्रधानन्यायाधीशलाई पनि लाञ्छना लगाए। कर्मचारीको सरुवा बढुवालगायत अन्य पक्षमा समेत हस्तक्षेप हुने गरेको उल्लेख गरे। ‘रिटायर्ड (अवकाश) भएपछि पनि उहाँहरूले विभिन्न कोणबाट न्यायपालिकामा डिक्टेट गर्न खोज्नुभयो’, उनले भने, ‘पूर्वप्रधानन्यायाधीशहरूले संरक्षक हौं भन्दै भाग खोज्छन्।’ आफ्नो स्वभाव त्यस्तो नभएको उनको जिकिर थियो।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले जबराले पूर्वप्रधानन्यायाधीशहरूलाई समेत आरोप लगाएकाले समितिले बयान लिनुपर्ने बताए। ‘प्रतिरक्षाका लागि जबराले आफ्नो कुरा राख्न पाउँछन्’, पूर्वन्यायाधीश केसीले भने, ‘यसअघि कहिल्यै पनि नसुनिएको विषय सार्वजनिक भएको छ। को–को हुन् ? ती प्रधानन्यायाधीशको नाम खुलाउन भन्नुपर्छ। संसदीय समितिले थप खोजबिन गर्नुपर्छ।’ अन्नपूर्ण पोस्टबाट







