
सिओल, रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २००७ बाट नेपाली नागरिकहरु रोजगारका लागि कोरिया आउन थालेका छन् । अहिलेसम्मको इतिहास हेर्दा दक्षिण कोरियामा नेपालीहरुको डरलाग्दो र गम्भीर घटना घटेको तथ्यांक छैन । तर, मंगलबार राति भने नेपालीले नै एक नेपालीको हत्या गरेको छ । यो घटनाले नेपाली नागरिकप्रती कोरियाली सरकारको ध्यानाकर्षण गरेको छ ।
दक्षिण कोरियाको छुङछनबुक्दोको जिनछनस्थित एक प्लास्टिक कम्पनीमा कार्यरत नेपालीले आफ्नै नेपाली सहकर्मीलाई धारिलो छुरा प्रहार गरी हत्या गरेको घटना छ । रोजगारीकै शिलशिलामा तीन हप्ताअघि मात्रै कोरिया आएका नुवाकोटका प्रकाश विकको हत्या भएको हो ।
यसैगरी ६ महिनाअघि उनकै कम्पनीमा काम गर्न
कोरिया आएका पाँचथरका राजेश बुढाथोकीले उनको हत्या गरेको हो । हाल घटनामा संलग्न अर्थात आरोपी यूवा प्रहरी नियन्त्रणमा छन् ।
सोही कम्पनीमा विगत ९ वर्ष देखि काम गर्दै आएका गोविन्द अधिकारीका अनुसार उनीहरुबीच कहिल्यै मनमुटाव र कुनै झगडा भएको थिएन ।
उनीहरू दुबै जना कम्पनीकै खिसुक्साको एउटै कोठामा बस्थे गर्थे । तर, मंगलबार राति साढे ११ बजे भने ठूलो स्वर आवाज आएको घटनास्थल (खिसुक्सा होस्टेलमै बस्ने) उपस्थित अर्का नेपालीले सञ्चारमाध्यमलाई जानकारी दिए ।
घटना भएकै खिसुक्सा (होस्टेल)मा बस्ने गरेका कृष्ण आलेले मंगलबार राति साढे ११ बजे ठूलो स्वर सुनेर कोठा बाहिर निस्कँदा प्रकाश भुइँमा लडिरहेको बताए । घटनाबारे थाहा हुने बित्तिकै उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।
यसैगरी आरोपित युवा बुढाथोकीलाई त्यहाँका स्थानीय प्रहरीले मृत्यु भएकै कोठामा बसेको र उनको पनि घाँटीमा केहि चोट रहेको अवस्थामा फेला पारेका थिए । अहिले उनको उपचार भइरहेको र थप अनुसन्धानपछि मात्रै घटनाको बारेमा विस्तृत जानकारी दिने प्रहरीले जानकारी दिएको छ ।
यो घटनाले त्यहाँ कार्यरत सबै नेपालीलाई आश्चार्यमा पारेको छ । कोरियामा हुने आपराधिक घटनाको कोरियाली कानुन अनुसार नै कारबाही हुन्छ ।
यता कोरियास्त्थित नेपाली राजदूतावासको अनुसार प्रहारी मार्फत घटनाबारे अनौपचारिक रुपमा जानकारी आएको छैन । गम्भीर घटनाको अनुसन्धान गर्न समय लाग्ने भएकोले पनि उनीहरुले जानकारी नगराएको हुनसक्ने राजदूतावासको बुझाइ छ ।







