
काठमाडौं, आज हिन्दु नारीहरुको महान पर्व तीजको रौनक बढी पशुपतिनाथमा देखिएको छ ।
पशुपतिनाथको दर्शन गर्न हजारौँको संख्यामा उपस्थित भएका महिलाहरु पुजापाठसंगै नाचगान गरेर रमाइरहेका छन् ।
पशुपति मन्दिरका चार ढोका बेलुकी आठ बजेसम्म खुला गरिनेछ । रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा अत्यधिक भीड लागेको छ ।


पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि तीन मार्गको व्यवस्था गरिएको छ भने मित्रपार्क–गौरीघाट–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गरी रुद्रगाडेश्वर नयाँ फलामे भर्याङ हुँदै कैलाश दक्षिण जुत्ता चप्पल कक्षबाट फर्कने व्यवस्था मिलाइएको छ ।
यसैगरी भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्वका अवसरमा दर्शनार्थीले छिटोभन्दा छिटो पशुपतिनाथ मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ ।







