
सिन्धुपाल्चोक, गए रातिको आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची–११ मा सडक अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय मेलम्चीलका अनुसार सीमखेत नजिकै नदी सडकमा पसेर कटान गर्दा यातायातका साधन सञ्चालनमा समस्या आएको हो । सडक अवरुद्ध भएसँगै हेलम्बु गाउँपालिका र मेलम्चीको वडा नं ६ र ७ का स्थानीय प्रभावित भएका छन् ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङका अनुसार पानीको बहाव हेरेर सडक सञ्चालन गरिनेछ ।
यसैगरी सिन्धुपाल्चोकको धाप र आसपासको क्षेत्रमा पछिल्लो छ घण्टामा भारी वर्षा मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले मध्यरातबाट बिहानसम्म पनि वर्षा जारी रहेकाले सो क्षेत्र भई बहने स–साना नदीमा आकस्मिक बहाव हुने हुँदा तटीय क्षेत्र तथा पहिरो जान सक्ने भएकाले भिरालो जमिनमा बिहानसम्मै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।







