
काठमाडौं, सङ्घीय संसद अन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक आज बस्दैछ । सोमबार बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभाका सांसद प्रदीप गिरीको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ ।
प्रतिनिधिसभाको सचिव गोपालनाथ योगीका अनुसार सभामुखले निम्न शोक प्रस्ताव प्रस्तुत गर्नेछन्, “प्रतिनिधि सभाको यो बैठक नेपाली कांग्रेस पार्टीबाट वि.सं. २०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा सिराहा जिल्ला क्षेत्र नं. ५ बाट निर्वाचित सदस्य, वि.सं. २०६४ र वि.सं. २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित सदस्य, वि.सं. २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सिराहा जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित सदस्य, हरेक लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका, लोकतन्त्र र आर्थिक नीतिमा समाजवादको व्यावहारिक व्याख्याताका रुपमा परिचित समाजवादी चिन्तक प्रदीप गिरीको ७५ वर्षको उमेरमा मिति २०७९ साल भदौ ४ गते शनिबार राति ९ः३० बजे ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा असामयिक निधन भएकोमा उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गर्दै शोक–सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ ।”







