
काठमाडौं, नेपाली कांग्रेसका ७४ वर्षीय नेता प्रदिप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको शनिबार राति ९ः३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनका सहयोगी मन्दिप भारतीका अनुसार उपचारमा संलग्न चिकित्सक तथा मेडिसिटी अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा पङ्कजकुमार बर्मनले पनि शनिबार साँझ साढे नौ बजे उपचारका क्रममा नेता गिरीको निधन भएको जानकारी दिए ।
विगत लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि उनलाई साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।






