
बैतडी, बैतडीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जङ्गली जनावरले आतङ्क मच्चाएका छन् । विगतका वर्षमा जस्तै बैतडी, दार्चुला, डडेल्धुरा, बझाङलगायत पहाडी जिल्लामा जङ्गली जनावरले आतङ्क मच्चाएका हुन् । दिनमा बाँदर, रातिको समयमा जङ्गली बँदेल, दुम्सीलगायत जङ्गली जनावरले अन्नबाली र तरकारी नष्ट गर्दा किसान आतङ्कित भएका छन् ।
जङ्गली जनावर धपाउन रातदिन जाग्राम बस्नुपरेको दोगडाकेदार ७ चडेपानीका केशव भट्टले बताएका छन । उनका अनुसार, “रातभर जाग्राम बसे पनि जङ्गली जनावरले मकैबालीमा ब्यापक क्षति पुर्याएको छ ।” जङ्गली जनावर धपाउन रातभर मकैबारीमै बस्ने गरेका दोगडाकेदार–३ का स्थानीय प्रकाश चन्दले जानकारी दिएका छन । जङ्गली जनावर धपाउनकै लागि जाग्राम बस्नुपरेको छ ।
जङ्गली जनावर नियन्त्रणका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने किसानको माग रहेको छ भने प्रत्येक वर्ष बालीनालीमा क्षति हुँदै आएको भए पनि राहत तथा क्षतिपूर्ति पाउन नसकेको किसानले बताएका छन् ।







