
काठमाडौं, चिनियाँ नागरिकको अपहरणमा नेपाल प्रहरीका दुई जना अधिकारीको पनि संलग्नता देखिएको छ। लैनचौरबाट बुधबार राति याङ याङ नामका चिनियाँ नागरिक र सूर्यबहादुर राई अपहरणमा परेका थिए।
राई ओखलढुंगा घर भई हाल बनस्थली बस्दै आएका थिए। अपहरणमा संलग्न २ जना प्रहरीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसरका प्रमुख भरतबहादुर बोहोराका अनुसार पक्राउ परेका ६ जनालाई म्याद थपका लागि अदालत लगिएको छ।
प्रहरीका अनुसार नेपालमा बस्दै आएका चिनियाँ नागरिकको अपहरणमा सहभागी रहेका ६ मध्ये २ जना प्रहरी भएको खुलेको छ। उच्च अदालत पाटनका एक न्यायाधीशका पीएसओ ३७ वर्षीय हल्वदार कर्णबहादुर गुरुङ र महानगरीय प्रहरी वृत्त बालाजुका घुमुवा प्रहरी शिव सुनुवारको संग्लनता भेटिएको हो।
प्रहरी वृत्त बालाजुले प्रहरी जवान शिव सुनार बालाजु वृत्तमै कार्यरत रहेको र अहिले अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर लगिएको पुष्टि गर्यो।
अपहरणमा सहभागी हुने अन्य २८ वर्षीय लक्ष्मण गुरुङ, २९ वर्षीय रोहित मगर, २८ वर्षीय विशाल मगर र २७ वर्षीय विनोद केसी छन्। काठमाडौं प्रहरी परिसर प्रमुख भरतबहादुर बोहोराका अनुसार उनीहरूलाई बसपार्कको बिजि मल अगाडिबाट पक्राउ गरिएको हो।
अनुसन्धानमा खटिएका प्रहरीका अनुसार २ प्रहरीसहित अन्य ४ जनाले उक्त चिनियाँ नागरिकलाई अपहरण गरी मित्रनगरस्थित एक लजमा बन्धक बनाएर १ करोड फिरौती मागेका थिए। अन्नपूर्ण पोस्टबाट







