
काठमाडौं, केही दिनअघि मात्र श्रीलंकामा आर्थिक संकट आएपछि सर्वसाधारणले प्रदर्शन गर्दै राष्ट्रपति भवन प्रवेश गरेका थिए । हाल इराकमा पनि यस्तै अवस्था उत्पन्न भएको छ ।
इराकमा प्रधानमन्त्रीको उम्मेदवारमा इरान समर्थक व्यक्तिलाई मनोनयन गरेको विरोधमा प्रदर्शन भएको हो । गए राति हजारौं प्रदर्शनकारीले संवेदनशील ग्रीन जोन पार गरेर पर्खालबाट चढी संसद भवनमा प्रवेश गरेका थिए ।

अन्तरास्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रदर्शनकारीहरूले इराकको राजधानी बग्दादमा रहेको संसद भवनमा तोडफोड गरेका छन् भने अहिले प्रदर्शनकारी इराकी संसदमा प्रवेश गरेर पनि फर्किएका छन् ।
पछिल्लो रिपोर्ट अनुसार बग्दादको संसदमा तोडफोड गर्ने इराकी प्रदर्शनकारीहरू एक प्रभावशाली धर्मगुरु मुक्तादा अल-सद्रका समर्थक हुन् । प्रदर्शनकारीहरूले प्रदर्शनका क्रममा शिया नेता अल-सद्रको तस्बिर हातमा बोकेका थिए ।
यसैगरी हालसम्म यस प्रदर्शनमा कुनै पनि जनधनको क्षति भएको छैन । प्रदर्शनकारी उच्च सुरक्षा ग्रीन जोनमा प्रवेश गर्दा इराकी संसदमा कोही पनि उपस्थित नभएको बताइएको छ । संसद भवनमा तैनाथ सुरक्षाकर्मी मात्रै रहेकाले आन्दोलनकारीलाई संसद भवनभित्र पस्ने अनुमति दिएको बताइएको छ ।






