
चितवन, कोरोना भाइरस सङ्क्रमण बढेसँगै चितवनमा मास्क लगाउनेको सङ्ख्यामा पनि बढेको छ तर मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृतिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको छ । यहाँका सडक, सडकपेटी र गल्लीमा प्रयोग भएको मास्क जथाभावी फालिएको देखिन्छ । यसरी मास्कको उचित प्रयोग र बिसर्जन हुन नसक्दा सङ्क्रमण फैलिन सक्ने विज्ञहरू बताउँछन् ।
मास्कको भित्रि भागमा थुक, र्याल, सिगान र वाहिरी भागमा अरुको थुकको छिटा परेको हुन सक्छ । कोरोना सङ्क्रमणसंगै अनिवार्य मास्क लगाउन सरकारले सबैमा अनुरोध गरेको छ । आफू र अरुलाई रोग सर्न र लाग्न रोक्नका लागि मास्क अनिवार्य गरिएको हो । आम नागरिकले मास्कको उचित प्रयोग र बिसर्जन नगर्दा यसको जोखिम बढ्न सक्ने देखिएको छ ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले मास्क प्रयोग र बिसर्जन राम्रो नभएको बताएका छन । मास्क प्रयोगको बानी परिनसकेकाले नाकदेखि चिउँडोसम्म टपक्क ढाकेर मास्क लगाउनुपर्नेमा त्यस्तो कम देखिने गरेको उनको भनाइ छ । “कतिपयले बोल्दा मास्क खोल्ने गर्दछन् । त्यो झन खतरा हो ।” बोल्दा मुखवाट निस्किएको थुकको छिटा अरुलाई परेमा रोग सर्न सक्छ । अप्ठ्यारो शव्द उच्चारण गर्दा मानिसको मुखबाट थुकको छिटा निस्कन सक्ने प्रमुख तिवारीको भनाइ छ ।
मास्कको डोरी कानमा अड्याएपछि हातले नछुन बिज्ञहरुको सुझाव छ । मास्कको वाहिरी भाग अझ बढि सङ्क्रमित हुन सक्ने विज्ञहरु बताउँछन् । अन्य सङ्क्रमित मानिससंग कुराकानी भएमा ती व्यक्तिको थुक आफ्नो मास्कको वाहिरी भागमा आएर बसेको हुन सक्ने प्रमुख तिवारीले बताएका छन ।







