
काठमाण्डू उपत्यकामा अहिलेसम्म १४ जनामा हैजा पुष्टि भएको छ भने गम्भीर किसिमको झाडापखाला भएर अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या बढिरहेको बताइन्छ। उपत्यकामा हैजा फैलिने जोखिम बढेपछि सरकारले विभिन्न माध्यममार्फत् सर्वसाधारण मानिसलाई खानेपानीबारे सजग रहन आग्रह गरेको छ।
“हैजा देखिएकामध्ये १२ बिरामी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने दुई जना अझै अस्पतालमै छन्,” इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले बीबीसीसँग बिहीवार बिहान भने।
डा. दासका अनुसार थप दुई सन्दिग्ध बिरामी पनि अस्पतालमा छन्।
“सबै जनाले सचेत रहनुपर्छ र रोगबाट बच्ने उपायहरू अपनाउनुपर्छ,” उनले भने।
कसरी पानी पिउने?
हैजा वा झाडापखाला लाग्नबाट बच्न पानी उमालेर, फिल्टर गरेर वा एक लिटर पानीमा तीन थोपा तरल क्लोरिन मिसाएर मात्रै पिउन विज्ञहरूले सुझाव दिएका छन्।
तर उपत्यकावासीले धारा र इनारको पानी, ट्याङ्करबाट वितरण गरिने र जारको पानी सुरक्षित मानेर नउमाली पिउने गरेको पाइएको छ।
के पानीपुरी र चटपटे बेच्न रोकेर मात्रै हैजा फैलिन पाउँदैन
काठमाण्डू उपत्यकाका केही ठाउँमा हैजा पुष्टि, शङ्कास्पद थप स्थान ‘निगरानीमा’
हात धुनुको महत्त्व बुझाउन खोज्ने चिकित्सकलाई यसरी एक्लो पारेर पागल भनियो
विशेषगरी जार र बोतलको पानी परीक्षण गरिने विश्वास रहेकाले धेरै मानिसले नउमाली पिउने गरेको पाइएको काठमाण्डू उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कायममुकायम उपकार्यकारी अधिकृत ज्ञानेन्द्र कार्की बताउँछन्।
“केयूकेएलले वितरण गर्ने पानी धाराबाट आउने भएकाले धेरैले त्यसलाई प्रशोधन र परीक्षण गरिएको छ भन्ने ठान्दैनन् र तताएर पिउँछन्। तर जारको पानी सबै ढुक्कसँग नउमाली पिउँछन्,” उनले भने।
“हैजाको जीवाणु देखिएको सन्दर्भमा सर्वसाधारण मानिले पनि सबै किसिमको पानी तताएर मात्र पिउनुपर्यो। सम्बन्धित निकायले पानी उद्योग अनुगमन र त्यहाँबाट वितरण गरिने पानीको गुणस्तर जाँच गर्नु पर्छ,” उनले भने।
पानीको जाँच कसले र कहिले गर्छन्?
केयूकेएलले वितरण गर्ने धाराको पानी वितरण गर्नुअघि त्यसको गुणस्तर जाँच गरिन्छ। प्रशोधनपछि पिउन योग्य बनाइने भनिएको पानीमा क्लोरिन, कोलिफर्म र ई. कोलाई नामक ब्याक्टेरियाको मात्रा परीक्षण गरिने जानकारी कार्कीले दिए।
खोप निर्माणका यी अग्रणी वैज्ञानिक जसलाई विश्वले बिर्सियो
“बोडे, बाँसबारी र महाङ्कालमा गरी हाम्रा तीनवटा प्रयोगशाला छन्। हामीले वितरण गर्ने पानी प्रशोधन गर्नुअघि र पठाउनुअघि जाँच गर्छौँ। त्यो पिउन योग्य छ भने मात्र वितरण गर्छौँ,” उनले भने।
पिउने पानीमा प्रतिलिटर ०.१ देखि ०.२ मिलिग्राम क्लोरिन छ भने त्यो पिउन योग्य हुन्छ।
पानीमा रोग लगाउन सक्ने पदार्थ रहेको सङ्केत गर्ने जीव र कोलिफर्मको पनि जाँच हुन्छ।हैजाको जीवाणु
विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार पानीमा ० देखि १ कोलिफर्म छ भने त्यो पानी पिउन योग्य मानिन्छ। एकदेखि तीन वटा छन् भने ठिकै, चारदेखि नौ भए सन्दिग्ध र १० भन्दा बढी भए पिउन अयोग्य ठहरिन्छ।
ई. कोलाई मानव मलमूत्रमा हुने जीवाणु हो। यसलाई झाडापखालाको एउटा प्रमुख कारक मानिन्छ।
त्यसैले यो पुष्टि भएको खण्डमा पानी पिउन अयोग्य हुन्छ।
“जाँच गर्दा यी सबैको मात्रा मापदण्डअनुरूप भयो भने मात्र हामीले त्यसलाई सेवाग्राहीसम्म पठाउने हो। तर हामीले पानी पठाउन प्रयोग गर्ने प्रणालीहरू पुराना भएको र त्यसमा भएका चिरामार्फत् फोहोर पस्ने सम्भावना रहन्छ,” उनले भने।
त्यसैले कसैको धाराबाट फोहोर पानी आएको गुनासो आएमा त्यसको जाँच र त्यहाँसम्म जडित संरचना मर्मतसम्भारमा जोड दिएको कार्कीको दाबी छ।bbc







