
टेक्सस राज्यको सान एन्टोनियोको बाह्य भेगमा बेवारिसे अवस्थामा भेटिएको एउटा लरीमा कम्तीमा ५० जनाको शव फेला परेको छ। ती शव आप्रवासीहरूको भएको भन्ठानिएको छ।
अमेरिका हुने मानव तस्करीसँग जोडिएको अनुमान गरिएको यो पछिल्लो सबैभन्दा खराब घटना भएको ठानिएको छ।
मृत्यु हुनेमा २२ जना मेक्सिकोका नागरिक भएको उक्त देशका विदेशमन्त्रीले पुष्टि गरेका छन्।
त्यस्तै सातजना ग्वाटेमाला र दुईजना होन्डुरसका नागरिक भएको बताइएको छ।
उद्धारकार्यमा संलग्न एक अधिकारीका अनुसार चार बालबालिकासहित १६ जनालाई अस्पताल लगिएको छ।
लरीमा जीवित फेला परेका व्यक्तिहरूको शरीर छुँदा तातो थियो। गर्मीका कारण उनीहरूलाई थकान र ‘हीट स्ट्रोक’ भएको थियो।
सान एन्टोनियो अमेरिका-मेक्सिको सीमाभन्दा २५० किलोमिटर टाढा छ। मानवतस्करहरूले उक्त सहरलाई बाटोका रूपमा प्रयोग गर्दै आएका छन्।
वैधानिक कागजपत्रबिनै अमेरिका प्रवेश गरिसकेका आप्रवासीहरूलाई तस्करहरूले दुर्गम भेगमा भेटेर उनीहरूलाई अन्यत्र लैजान लरी प्रयोग गर्छन्।

“उनीहरूका परिवार थिए… अनि सम्भवतः अझ राम्रो जीवनको खोजीमा थिए,” सान एन्टोनियोका नगरप्रमुख रोन निरेन्बर्गले भने।
“यो एउटा भयानक, मानवीय वियोगभन्दा कम अरू केही हैन।”
एउटा शव फेला परेको सूचना पाएपछि आपत्कालीन सेवाका कर्मचारीहरू साँझ ६ बजेतिर घटनास्थलमा पुगेका थिए।
सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा एउटा ठूलो ट्रकको वरिपरि आपत्कालीन सेवामा खटिने कैयौँ कर्मचारीहरूले घेरिएको देख्न सकिन्थ्यो।

केएसएट टेलिभिजन च्यानलका अनुसार उक्त ट्रक एउटा रेलको पटरीनजिकै फेला परेको थियो। द न्यूयोर्क टाइम्सका अनुसार सान एन्टोनियोका प्रहरीले घटनास्थलमा नरहेका सवारीचालकको खोजी गर्न थालेका थिए।
सहरको दमकल सेवाका प्रमुख चार्ल्स हुडका अनुसार उक्त लरीमा काम गर्ने वातानुकूलक र खानेपानी थिए।
ट्रक खोलेर हेर्दा शवहरूको थुप्रो देखिएको प्रसङ्ग बताउँदै उनले भने, “त्यस्तो कल्पना नै नगरी हामी यहाँ आएका थियौँ।”गर्मी याममा सान एन्टोनियोमा खपिनसक्नु गर्मी हुन्छ।सोमवार त्यहाँको तापक्रम ३९.४ डिग्री सेल्सीअस पुगेको थियो।
रू के थाहा भयो?
अरू व्यक्ति कुन देशका हुन् भन्ने स्पष्ट भइसकेको छैन। तीन जना मानिसहरूलाई हिरासतमा राखिएको छ।
घटनाबारेको अनुसन्धान सङ्घीय निकायका अधिकारीहरूलाई हस्तान्तरण गरिएको छ।मेक्सिकोका महावाणिज्यदूत घटनास्थलतिर गएका छन्।सान एन्टोनियोस्थित वाणिज्य दूतावासले मृतकमध्ये मेक्सिकोका नागरिक भए “सबै सहयोग” गर्ने बताएको छ।उक्त सहरमा यसअघि पनि आप्रवासीहरू मृतावस्थामा फेला परेका थिए।सन् २०१७ मा उस्तै खालको गाडीमा सहरको दक्षिणी भागमा अवस्थित वालमार्टबाहिर १० जनाको शव भेटिएको थियो।
एउटा भयानक दृश्य
एन्जेलिका कासास, सान एन्टोनियो
अहिले अँध्यारो भइसकेको छ र सुरक्षा निकायका केही सवारीसाधन र टेप प्रयोग गरेर मानवीय क्षति भएको उक्त क्षेत्रमा पर्ने अँध्यारो सडकलाई बन्द गरिएको छ।
मृतकहरू आप्रवासी भएको ठानिएको छ। गर्मी सहन नसकेर वा पानीको अभाव भएर उनीहरूको मृत्यु भएको हुनसक्ने ठानिएको छ।
घटनास्थलभन्दा केही पर सुरक्षाकर्मीका रूपमा काम गर्न एड्वर्ड रेनाले राति काम गर्न पुग्दा त्यस्तो खबर सुन्नुपर्दा आफूलाई आश्चर्य नलागेको बताए।
उनले उक्त लरी भेटिएको ठाउँनजिकै आप्रवासीहरूले रेलबाट हाम फालिरहेको आफूले कैयौँ पटक देखेको टिप्पणी गरे।bbc







