
गृहमन्त्री बालकृष्ण खाँण र कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
भक्तपुरको बालकोटस्थित अध्यक्ष ओलीको निवासमा भएको भेटमा नागरिकता विधेयकलाई राजनीतिक सहमतिमा अगाडि बढाउने विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालेले जनाएको छ ।
सचिवालयका अनुसार नागरिकता विधेयक सदनमा अगाडि बढाउने र दलीय सहमतिमा पास गर्ने विषयमा सकारात्मक छलफल भएको गृहमन्त्री खाँणले बताए ।
सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्मा पेश गरेर पास गर्ने तयारी गरिरहेको छ । गृहमन्त्री खाँणले विधेयबारे पटक–पटक दलहरूसँग छलफल गरेका छन् ।
उनीहरूले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरिसकेका छन् ।
नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेश भएको छ । नागरिकतामा नेपाली पुरुषसँग विवाह गरी आउने विदेश महिलालाई दिने नागरिकता लगायतमा दलहरूबीच सहमति जुट्न सकेको छैन ।







