
नेकपा एमालेको सचिवालय बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीले प्रमुख पदहरूमा सन्तोषजनक स्थान हासिल गर्न नसकेको ठहर गरेको छ । बैठकले त्यसको गम्भीर समीक्षा गर्दै आगामी कार्यभारका लागि केन्द्रित रहने निर्णय गरेको छ ।
बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तह निर्वाचनको मतपरिणाम समेतलाई ध्यान दिँदै तथा प्राप्त नतिजाबाट शिक्षा लिँदै पार्टीलाई चुनाव केन्द्रीत गर्ने निर्णय गरिएको जानकारी दिए । एमालेले संविधान बमोजिम आगामी मंसिरमा चुनाव हुनुपर्ने भनेको छ ।
ज्ञवालीले निर्वाचन जनताको सार्वभौम अधिकार प्रयोग गर्ने उच्चतम थलो भएकाले निर्वाचनमा भाग लिएपछि त्यसको परिणाम स्वीकारिने बताए। उनले ३४ प्रतिशत लोकप्रिय मतसहित एमाले ठूलो दलका रुपमा अगाडि आएको तथ्य स्थापित भएको जनाउँदै स्थानीय तहका प्रमुख र अध्यक्षहरूमा एमालेले पाएको मत सन्तोषजनक नरहनुमा दुई कारण रहेको बताए । जसमा एउटा सत्ता गठबन्धन र अर्को एमालेको आन्तरिक कारण रहेको बैठकले निष्र्कर्ष निकालेको उनको भनाइ छ ।
उनले केही ठाउँमा समयमा उम्मेदवार चयन, आकाङ्क्षीहरूको सही व्यवस्थापन र निर्वाचन परिचालनामा कुशलता नहुँदा पराजित हुनुपरेको बताए । केही ठाउँमा भने घात अन्तर्घात भएको देखिएकाले अन्तर्घातमा संलग्नलाई सम्बन्धित कमिटीले कारबाही गर्ने र आगामी अभिभारामा केन्द्रित हुने तय भएको जानकारी दिए ।
नेता ज्ञवालीले निर्वाचनमा पार्टीको स्थानबारे आन्तरिक समीक्षा गर्नुका साटो पार्टीका कुनै पनि नेताले पार्टी प्रतिष्ठा र मूल नेतृत्वलाई अनावश्यक लाञ्छना लगाउने कार्यमा संलग्न हुनु नहुने स्पष्ट गरे ।
जनता समाजवादी पार्टी (जसपा(का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरी पार्टी विभाजनमा सघाउन आग्रह गरेका छन् ।
पार्टीको आधिकारिकता दाबी गर्नका लागि आवश्यक संख्या पुगेको दाबी गर्दै भट्टराईले राजनीतिक दलसम्बन्धी ऐन सक्रिय बनाउनका लागि प्रतिस्थापन विधेयक ल्याएर सहयोग गरिदिन देउवालाई आग्रह गरेको स्रोतले लोकान्तरलाई जानकारी दियो ।
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेताद्वय राजेन्द्र महतो र शरतसिंह भण्डारी प्रधानमन्त्री देउवासँग भेटेर बाहिरिएलगत्तै भट्टराईसहित जसपाका केही नेताले देउवालाई भेटेका थिए ।
स्रोतका अनुसार भेटमा भट्टराईले पार्टीको कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवलाई कारवाही गर्नका लागि आफूहरूसँग बहुमत पुगेको दाबी गरेका थिए । यादवलाई पार्टीबाट निष्कासनसम्मको कारवाही गर्ने तयारी भएको उनले बताएका थिए ।
सरकारलाई दिएको समर्थन कायम रहने र गर्नुपर्ने थप सहयोग गर्न आफू तयार रहेको भन्दै भट्टराईले देउवालाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई सक्रिय पार्न चाहिने प्रतिस्थापन विधेयक ल्याइदिन आग्रह गरेको स्रोतको दाबी छ ।
प्रधानमन्त्री देउवाले भने तत्काल उपेन्द्र यादवको विपक्षमा खुल्नेगरी काम गर्न नसक्ने जवाफ दिएको स्रोतले बतायो ।
पछिल्लो समय जसपामा विवाद चर्किएको छ भने उपेन्द्र कमजोर अवस्थामा रहेको बताइन्छ । विवादकै कारण पार्टीको विधान अधिवेशन पनि स्थगित भएको छ ।
००००
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बागमती प्रदेशले आयोजना गरेको कार्यक्रममा काठमाडौं महानगरपालिकाको गालीमात्रै गरिएको भन्दै गुनासो गरेका छन् । ‘बागमती प्रदेशले आयोजना गरेको काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुशी लाग्यो’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘धन्यवाद !’
सोमबार र मंगलबार बागमती प्रदेश सरकारले प्रदेश भित्र रहेका सम्पूर्ण स्थानीय तहहरूका प्रमुख र उपप्रमुखहरूलाई स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम राखेको छ । सोही कार्यक्रममा सहभागी हुन शाह उपमेयर सुनिता डंगोलसहित हेटौडा पुगेका थिए ।
००००
सरकारले असार १ देखि लागू हुनेगरी सातामा दुई दिन सार्वजनिक बिदा खारेज गरेसँगै कार्यालय समय पुरानै कायम हुने भएको छ । गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो ।
मन्त्रिपरिषद्को जेठ २३ गतेको निर्णयअनुसार परीक्षणको रुपमा जेठ १ गतेदेखि लागू भएको सातामा दुई दिन बिदा असार १ देखि खारेज हुने उल्लेख गरिएको छ । जसअनुसार सवै सरकारी कार्यालयहरूमा आइतबारदेखि बिहीबारसम्म कार्यालय समय असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत्र मसान्तसम्म विहान १० देखि अपरान्ह ५ बजेसम्म हुने छ ।
यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म हुनेछ ।
यस्तै शुक्रबारको दिन कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुने मन्त्रालयले जनाएको छ ।
कमल थापाले राप्रपा नेपाल गठन गरेपछि सोही पार्टीमा लागेका उद्धव पौडेल र चन्द्रबहादुर गुरुङ पुरानै पार्टी राप्रपामा फर्किएका छन् । उनीहरुलाई सोमबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरेको एक नेताले जानकारी दिए ।
उनीहरु कमल थापाका विश्वास पात्र मानिने भएपनि थापाले राजतन्त्रको एजेण्डा छाडेपछि केही पहिले पार्टीबाट बाहिरिएका थिए ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०७९ स्वीकृत गरेको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष एवं गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा सोमवार सिंहदबारमा बसेको १३औं बैठकले कार्ययोजना स्वीकृत गर्दै प्रभावकारी कार्यान्वयनका लागि कमाण्ड टोली गठन गरेको हो ।
बजारमा बढेको महंगी अनुसार सरकारले मूल्य समायोजन नगरेको भन्दै निर्माण व्यवसायीले काम नगर्दा अहिले करीब ३५ सय आयोजना प्रभावित भएका छन् ।
अन्तर्राष्ट्रिय स्तरमा बढेको इन्धनको मूल्य, निर्माण सामग्रीको अधिक मूल्यवृद्धि र बैंक तथा वित्तीय संस्थामा तरलता अभावका कारण व्यासायीले ऋण नपाउनुको असर बैंक तथा वित्तीय संस्थामा परिरहेको छ ।
पछिल्लो समय महंगी अनुसारको मूल्य समायोजन नभएकै कारण निर्माण व्यवासायीले सरकारी निकायसँग सम्झौता गरिसकेपछि पनि ठेक्का परिचालन रकम लिएका छैनन् ।
अर्थ मन्त्रालयले बजेट निर्माण प्रक्रियामा तोकिएका पदाधिकारीबाहेक कसैको संलग्नता नरहेको स्पष्ट गरेको छ । बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्रीलाई जोडेर आएको समाचारमा सत्यता नभएको मन्त्रालयले प्रष्ट गरेको हो ।
अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता भुपाल बरालले सोमवार एक विज्ञप्ति प्रकाशित गरी बजेट निर्माण प्रक्रियामा तोकिएका जिम्मेवार पदाधिकारीबाहेक कसैको संलग्नता नरहेको बताएका हुन् ।
प्रतिनिधि सभाको बैठकले कृषकलाई मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ ।
सोमवारको प्रतिनिधि सभा बैठकमा एमालेका सांसद विशाल भट्टराईले अत्यन्त जरुरी सार्वजनिक महत्त्वको स्थगन प्रस्ताव दर्ता गरेपछि उक्त प्रस्तावमा छलफल भएको थियो ।
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
सो मुद्दा सोमवार सुनुवाइका लागि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा परेको थियो । अर्को सुनुवाइ असार ५ मा हुनेछ ।
नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारको परराष्ट्र सम्बन्धको प्रस्थान बिन्दु नै गलत भएको बताएका छन् ।सोमवार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भम्रणबारे संसद, समिति र नागरिकलाई जानकारी दिनुपर्ने बताएका छन् ।
सोमवार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयमा धेरै प्रश्नहरू उठेको भन्दै प्रधानमन्त्रीले संसद, समिति र देशलाई जानकारी दिनुपर्ने बताएका हुन् । समितिले देउवालाई असार ५ गतेका लागि छलफलमा बोलाएको छ।
त्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सोमवार एमसीएको कार्यालय घेराउ गरेको छ । याक एण्ड यतिमा रहेको एमसीएको केन्द्रीय कार्यालय घेराउ गर्दै नेकपाका कार्यकर्ताहरूले एमसीसीविरुद्ध प्रदर्शन गरेका थिए ।उनीहरूले वैदेशिक हस्तक्षेप बन्द गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद भन्दै विरोध प्रदर्शन गरेका हुन् ।
विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्न भन्दै जमिन रोक्का राखिएका ३०० परिवार आन्दोलित भएका छन् ।सरकारले २ वर्षसम्म जमिन रोक्का राख्दा समेत प्रक्रिया अगाडि नबढाइएको भन्दै पीडितहरू आन्दोलित भएका छन् ।
नेकपा विभाजनको डेढ वर्षपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठबीच घण्टौं लामो कुराकानी भएको छ ।
ओली निवास बालकोटमा आइतवार २ नेताबीच भेटवार्ता भएको हो । आइतवार साँझ २ नेताबीच लामो कुराकानी भएको ओली निवास बालकोट स्रोतले पुष्टि गरेको छ । सो भेटवार्तालाई अर्थपूर्ण?पमा हेरिएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश र संघको चुनाव आगामी मंसिर पहिलो साता गर्ने गरी गठबन्धनमा छलफल भइरहेको बताएका छन् ।
बर्दिया पुगेका प्रचण्डले सोमवार पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्रीसँग र गठबन्धनका दलमा मंसिर पहिलो साता प्रदेश र संघको निर्वाचन गर्नेबारे छलफल भइरहेको बताएका हुन् ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेताहरूले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेका छन्। लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरत सिंह भण्डारी लागयतका शीर्ष नेताहरूले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर भेटवार्ता गरेका हुन्।
नागरिकता विधेयक लगायतको विषयमा कुराकानी गर्नुका साथै सरकारमा सहाभागिता लगायतको विषयमा कुराकानी भएको हो। lokantar







