प्यासिफिक कमान्डिङ जेनरल चार्ल्स ए फ्लिन चारदिने नेपाल भ्रमणमा आएका छन् ।नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त राज्य अमेरिकाको भ्रमणमा निस्किनुअघि अमेरिकी सेनाको प्यासिफिक कमान्डका एक उच्च कमान्डरको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेर्नुपर्ने सैन्य मामिलाका विज्ञहरूले बताएका छन्।

अमेरिकी सेनाको प्यासिफिक कमान्डिङ जेनरल चार्ल्स ए फ्लिन नयाँदिल्लीको भ्रमण सकेर बिहीवार काठमाण्डू आइपुगेका हुन्।चार दिन नेपालमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति शर्मासहित विभिन्न उच्च अधिकारीलाई भेट्ने जनाइएको छ।
प्रधानसेनापति शर्माले आगामी असारको १३ गतेदेखि १७ गतेसम्म अमेरिकाको औपचारिक भ्रमण गर्न लागेको जानकारी सैनिक मुख्यालयले यसअघि नै दिइसकेको छ।
भ्रमणको अर्थ के?
कतिपय विश्लेषकहरूले जेनरल फ्लिनको भ्रमणलाई तीन सातापछि हुन लागेको नेपालका प्रधानसेनापतिको पेन्टागन भ्रमणसँग पनि जोडेर हेरेका छन्।
नेपाली सेनाका अवकाशप्राप्त उपरथी बिनोज बस्न्यात चीन अमेरिकाबीच बढ्दो प्रतिद्वन्द्विताका माझ बदलिँदो भूराजनीतिक परिवेशबारे आफ्नातर्फबाट विचारहरूको आदानप्रदान गर्न यी उच्चस्तरीय भ्रमणहरू हुन लागेको ठान्छन्।
उनले बीबीसीसँग भने, “अहिले हुन लागेको अमेरिकी जेनरलको भ्रमण र हाम्रा प्रधानसेनापतिको भ्रमणमा बदलिँदो भूराजनीतिक वातावरणबारे पनि छलफल हुन्छ भन्ने मलाई लाग्छ। अमेरिकाले चीनलाई प्रतिस्पर्धीका रूपमा लिइरहेको छ। चीनको तिब्बतसँग सिमाना जोडिएको हिसाबले पनि भूराजनीतिक हिसाबले नेपाल महत्त्वपूर्ण रहेको त्यसै बुझ्न सकिन्छ।”
“अमेरिकाको इन्डो-प्यासिफिक रणनीतिमा यो क्षेत्रमा भारतको प्रमुख भूमिका रहेको भनिएको छ र चीनलाई प्रतिस्पर्धीका रूपमा दर्शाइएकै छ। भारत हुँदै अमेरिकी सैनिक जेनरलको नेपाल भ्रमण हुनुले पनि केही साङ्केतिक अर्थ दिन्छ।”
नेपाली सेनाको भनाइ के छ?
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार जेनरल फ्लिन “सद्भावना भ्रमणमा” आउन लागेका हुन्।एशिया प्रशान्त क्षेत्र हेर्ने अमेरिकी सेनाको इन्डो-प्यासिफिक कमान्डका उच्च अधिकारी रहेका उनको भ्रमणको मूल उद्देश्य दुई सेनाबीचको सम्बन्ध थप सुदृढ गर्ने रहेको सैनिक अधिकारीहरू बताउँछन्।
यो भ्रमणलाई नेपाल अमेरिका कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वार्षिकोत्सवको अवसर पारेर दुवै देशबाट भइरहेका उच्चस्तरीय भ्रमणहरूको निरन्तरताका रूपमा हेरिएको छ।
नेपाली सेनाका प्रवक्ता सिलवालका अनुसार फ्लिनले शुक्रवार जङ्गी अड्डाको भ्रमण गरी महत्त्वपूर्ण भेटवार्ताहरू गर्ने छन्।त्यस क्रममा सैनिक मुख्यालय भद्रकालीमा उनलाई गार्ड अफ अनर अर्थात् सम्मान गारद दिने कार्यक्रम छ।प्रधानसेनापति शर्मासँगको भेटपछि उनलाई नेपाली सेनाको अप्रेशनसम्बन्धी कार्यक्रमहरूबारे ब्रीफिङ गरिने छ।
शनिवार बिहान जेनरल फ्लिन सगरमाथा आधारशिविरको भ्रमणमा जाने कार्यक्रम छ।आइतवार बिहानै उनले पाँचखालस्थित नेपाली सेनाको शान्ति सैनिक तालिम केन्द्रको भ्रमण गर्ने छन्।त्यहाँबाट फर्केर उनी काठमाण्डूको शिवपुरीमा रहेको नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेज पुग्ने र सम्भवतः शिक्षार्थीहरूलाई सम्बोधन गर्ने बताइएको छ। bbc







