
काठमाडौं, काठमाडौं उपत्यकामा बिहिबारबाट मर्निङ वा इभिनिङ वाक दुबै गर्न नपाइने भएको छ । यदि वाक गर्न घरबाहिर निस्केमा सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका छन । बिहिवारबाट हुने लकडाउनको आदेशानुसार यो पट्क भने अत्यावश्यक कामबाहेकका क्रियाकलाप प्रहरीले निकै कडाई गर्ने भएका छन ।
उक्त ऐनमा आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर एक महिनासम्म कैद वा रु १०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । त्यस्तै यो ऐनअन्तर्गत अधिकृत व्यक्तिलाई काममा बाधा पुर्याउनेलाई छ महिनासम्म कैद वा रु ६०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । कोभिड–१९ को सङ्क्रमण फैलिँदै गएकाले यसअघि बनदाबन्दीमा अपनाइएको सहजीकरणसमेत यसपाली हुने छैन । कुनै सवारी पाससमेत जारी गरिने छैन । त्यसैले बन्दाबन्दी भन्दा आज राति १२ः०० बजेदेखि लागु हुने निषेधाज्ञाको आदेश थप कडा हुनेछ ।
यसअघि उपत्यकामा कुनै दिन पनि बढी जोखिम भएको थिएन । यसपटक दैनिक एकसय भन्दाबढी सङ्क्रमित देखिन थालेको र अस्पतालमा श्ययाको समेत अभाव हुन थालेपछि उपत्यकामा महामारीको अवस्था रहेकाले कडाइ गर्नुपर्ने अवस्था आएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले प्रशासनको निर्णयअनुसार महानगरीय प्रहरी कार्यालयमार्फत आवश्यक ड्युटी खटाउनेदेखि तयारीका सबै व्यवस्थापन गरिएको जानकारी दिएका छन । आदेश पालनामा कुनै कसर बाँकी नराख्ने उनले बताएका छ्न ।






