
चितवन, चालू आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न तथा बस्तु चराउन गएका २२ जनाको जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएको छ ।
निकुञ्ज सुरक्षामा खटिँदा, घाँस दाउरा गर्न जाँदा, पूजा गर्न जाँदा, पर्व मनाएर घर फर्कदै गर्दा जंगली जनावरको आक्रमणमा परी विभिन्न समयमा उनीहरुको मृत्यु भएको हो ।
चालू आर्थिक वर्षमा सबैभन्दा बढी बाघको आक्रमणबाट मानवीय क्षति भएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघको आक्रमणबाट १३ जनाको मृत्यु भएको छ ।
यसैगरी गैँडाको आक्रमणबाट छ र जङ्गली हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु भएको उनले जानकारी दिए । गत आर्थिक वर्षमा जङ्गली जनावरको आक्रमणमा परी १२ जनाको मृत्यु भएको थियो ।







