
शनिबार वीरगञ्ज उद्योग वाणिज्य संघको ४६ अाै साधारणसभामा अर्थमन्त्री जनार्दन शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल यसै वर्ष निर्माण सुरु गर्ने बताएका छन् ।मन्त्री शर्माले निजगढ विमानस्थल यसै वर्ष निर्माण सुरु गर्ने प्रतिवद्धता जनाएका हुन् ।
‘निजगढ विमानस्थल बनाउने हो, बन्छ, यसै वर्ष सुरु गर्ने हो । यसको लागि म जे पनि गर्न तयार छु । यो जनार्दन शर्माको प्रतिवद्धता हो । यो अहिलेको शेरबहादुर देउवा सरकारको प्रतिबद्धता हो’ उनले भने ।
हालै सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माण गर्न सरकारले गरेका सबै निर्णय बदर गरिदिएको छ र विमानस्थल बनाउनै पर्ने भएमा विकल्प खोज्न आदेश दिएको छ । तर उक्त फैसलाको पूर्णपाठ सार्वजनिक नहुँदै अर्थमन्त्री शर्माले निजगढ विमानस्थल निर्माण गर्ने दाबी गरेका हुन् ।
अर्थमन्त्री शर्माले वीरगञ्ज चिनी मिल चलाउने कुरा बजेटमा उल्लेख गरिएको भन्दै त्यसलाई मजाकको रुपमा नलिन पनि आग्रह गरे । उनले ५–७ महिनादेखि निरन्तर यसबारे गरेको अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा सो चिनी मिल चलाउन सरकार तयार रहेको बताए ।
मन्त्री शर्माले चिनी मिल सञ्चालनका लागि किसानलाई प्रोत्साहन गर्न र कच्चा पदार्थको उपलब्धता बढाउन वीरगञ्ज क्षेत्रकै उद्योगी व्यवसायीले पनि सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए ।







