
काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको निर्वाचन आगामी कार्तिकमै गर्ने बताएका छन् । शनिबार राजधानीमा कान्तिपुर हाफ म्याराथनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यसको लागि दलहरुबीच छलफल गरेर सहमति कायम गरेर निर्णय लिईने बताएका हुन् ।
उनले भने, ‘हामी सरसल्लाह गर्दैछौं । कात्तिकमै गरे पनि हुन्छ । ढिलो गर्यो भने झन् विवाद हुन्छ । तपाईंहरुले पनि ढिलो भयो भनेर लेखिदिइहाल्नुहुन्छ । गठबन्धनका पार्टनरसँग कुरा गरेर कात्तिक वा मंसिरमै चुनाव हुन्छ ।’
यसैगरी प्रधानमन्त्री देउवाले वातावरण जोगाउने सरकारको महत्वपूर्ण एजेण्डा भएको बताए । उनले अहिले वातावरण जोगाउने विश्वकै महत्वपूर्ण एजेन्डा भएको र यसप्रति नेपाल सरकार गम्भीर रहेको बताए ।
उनले भने, “मौसम परिवर्तन र तापमानमा देखिएको वृद्धिको समस्या सारा संसारले भोग्दै आएको छ । हामीले पनि मौसम परिवर्तनका कारण विभिन्न समस्या भोग्न थालेका छौँ । बेमौसमी बाढी पहिरोका साथै हाम्रा हिमाल पग्लने समस्याले हिमशृङ्खला नाङ्गिँदै गएका छन् भने नदी प्रणालीमा समेत असर गर्दै आएको देखिन्छ ।”







