
उदयपुर, उदयपुरमा आज बिहान ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सिद्धिचरण लोकमार्ग अन्तरगत उदयपुरको कटारी नगरपालिका–१४ भदौरेस्थित चनौटमो सोमबार बिहान ट्रक दुर्घटना हुँदा चार जनाको ज्यान गएको हो ।
हेटौंडाबाट मिक्सु सोलु हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बुतर्फ जाँदै गरेको ना.८.ख.८२९७ नम्बरको लोबेड ट्रक बिहान २:३० बजे स्थित खोला नजिक दुर्घटना भएको हो । ट्रक सडकबाट करिव एक सय मिटर तल खसेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाका अनुसार मृत्यु हुनेमा ट्रकका चालक बाराको सिमरा–१ का ३५ वर्षीय सुजित घलान, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा–१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङ रहेका छन् । उनिहरुको घटनास्थलमै मृत्यु भएको हो ।
यसैगरी प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कच्ची सडकमा चालक निदाएका कारण ट्रक अनियन्त्रित भइ दुर्घटना भएको खुलेको छ । हाल प्रहरीले स्थानीयको सहयोगमा शव बाहिर निकाल्ने कार्य जारी छ ।







