
युक्रेनको चेर्नीहिभ क्षेत्रका गभर्नरले उक्त क्षेत्रमा सैन्य गतिविधि घटाउने वाचाविपरीत रुसी आक्रमणमा कमी नआएको बताएका छन्।गभर्नर भिचास्लाभ चाउसले टेलिग्राम म्यासेजिङ एपमा रुसले आफ्नो वाचा पूरा नगरेको भन्दै निन्दा गरेका छन्।
“हामी त्यसमा विश्वास गर्छौँ? पक्कै पनि गर्दैनौँ,” उनले भनेका छन्। गभर्नरका अनुसार रुसले चेर्नीहिभ क्षेत्रमा “रातभर” बम आक्रमण गरेको थियो।
टर्कीमा भएको शान्ति वार्तापछि रुसले मङ्गलवार उत्तरी युक्रेनको किएभ र चेर्नीहिभ क्षेत्रहरूमा आफ्नो सैनिक गतिविधिलाई “ठूलो मात्रामा” कटौती गर्ने बताएको थियो।रुसका उपरक्षामन्त्रीले एलेक्जेन्डर फोमिङले “आपसी विश्वास बढाउनका लागि” सैन्य गतिविधि धेरै मात्रामा कटौती गर्न लागिएको बताएका थिए।मस्को र किएभका प्रतिनिधिहरूले टर्कीको इस्तानबुलमा तीन घण्टा लामो वार्ता गरेका थिए।
उक्त वार्तालाई फेब्रुअरी २४ मा आरम्भ भएको युक्रेनविरुद्ध रुसी अतिक्रमणयता भएका शान्ति वार्तामा प्रगतिको पहिलो सङ्केतका रूपमा लिइएको छ।
युक्रेनले रुसका सामु प्रस्तुत गरेका विकल्पहरूमा युक्रेनले सुरक्षाको प्रत्याभूतिका बदलामा तटस्थ भूमिका अपनाउने कुरा प्रस्ताव गरेका थिए।रुस आक्रमणको एउटा प्रमुख उद्देश्य युक्रेनलाई नेटो गठबन्धनमा सदस्य हुनबाट रोक्नु रहेको ठानिएको छ।
रुसी अधिकारीहरूले वार्ता व्यवहारिक चरणमा प्रवेश गरेको प्रतिक्रिया दिएका छन्।युक्रेनले आफ्नो फौजको उपस्थिति घटाउने रुसी प्रतिबद्धतालाई संशयका साथ हेरेका थिए।
“युक्रेनीहरू कच्चा मानिसहरू होइनन्,” राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले भिडिओ सन्देशमा भनेका छन्।जेलेन्सकीले वार्ताका प्रारम्भिक सङ्केतहरू सकारात्मक भएको बताएका छन्। तर रुसी गोलाबारी नरोकिएको उनले बताए।
अरू पश्चिमा देशहरूले पनि रुसी प्रतिविद्धतालाई संशयका साथ हेरेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडनले उनीहरूको व्यवहार हेरेर मात्रै मूल्याङ्कन गर्ने बताएका छन्।यूके, फ्रान्स, जर्मनी र इटलीका नेताहरूले रुसविरुद्ध तैनाथ आफ्ना सुरक्षाकर्मीहरूलाई तत्कालै फिर्ता नबोलाउन पश्चिमा राष्ट्रहरूलाई आग्रह गरेका छन्।
गभर्नर चाउसले टेलिग्राम सन्देशमा रुसले रातभर हवाई हमला र आक्रमण जारी राखेको उल्लेख गरेका छन्।बीबीसीले यसको स्वतन्त्र पुष्टि गर्न सकेको छैन। बीबीसी







