
रुसी सेनाले युक्रेनमाथिको पहिलो चरणको सैन्य हमला समाप्त भएको बताएको छ ।रुसको ध्यान पूर्वी युक्रेनको डोनबास क्षेत्रलाई स्वतन्त्रता दिने विषयमा केन्द्रित हुनेछ ।
करिब एकमहिना लामो सैन्य संघर्षपछि राजधानी किभ कब्जा प्रयास असफल भएपछि यस्तो धारणा सार्वजनिक भएको पश्चिमी शक्ति राष्ट्रहरुले अनुमान गरेका छन् ।
सीएनएन, बीबीसी र अलजजिराका अनुसार युक्रेनी राष्ट्रपति भ्लोडिमिर जेलेन्स्कीका अनुसार युक्रेनी सेनाले रुसी सेनालाई राजधानी वरपरलगायतका क्षेत्रमा भीषण प्रतिरोध गरेपछि रुसले आफ्नौ सैन्य रणनीति परिवर्तन गरेका हुन् । राष्ट्रपति जेलेन्स्कीले रुस–युक्रेन युद्धमा करिब १६ हजार रुसी सेनाको ज्यान गएको दाबी गर्नुभएको छ ।
उता, रुसले भने करिब १३ सय ५१ जना रुसी सेनाले युक्रेन युद्धमा शहादत प्राप्त गरेको स्वीकार गरेको छ ।
रुसी सेनाको भारी मात्रामा नोक्सान भए पनि रुससँग शान्तिवार्ता आवश्यकतामा उहाँले जोड दिनुभएको छ ।
यस्तै, रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले पश्चिमी शक्ति राष्ट्रका कारण रुसी संस्कृति लोप हुने खतरा बढेको बताउनुभएको छ ।
संयुक्त राष्ट्र संघका अनुसार एक महिने संघर्षमा करिब एकहजार ८१ जना गैरसैनिक नागरिकको ज्यान गएको छ ।
रुसले एकहजार २५० वटा क्षेप्यास्त्र युक्रेनका विभिन्न शहरमा हमला गरेको छ ।
यस्तै, लामो समयसम्म घेराबन्दी गरेर हमलामा परेको म्यारियोपोलमा गतहप्ता भीषण आक्रमणमा परेर करिब तीनसय जनाको हताहती भएको थियो ।
पश्चिमा अधिकारीहरूले रुसको यो घोषणा मस्कोको रणनीति असफल भएको सङ्केत भएको दाबी गरेका छन्।
रुस र युक्रेनबीच जारी युद्धका बेला युरोप भ्रमणमा निस्किएका अमेरिकी राष्ट्रपति जो बाइडन भ्रमण बिट मार्ने क्रममा युक्रेनको छिमेकी देश पोल्यान्डमा छन्।
युक्रेनमा रुसी आक्रमणको उद्देश्य अझै स्पष्ट नभए पनि रुसी राष्ट्रपति पुटिनले युक्रेनको निरस्त्रीकरणमा जोड दिँदै आएका छन्। उनले युक्रेनमा रुसीभाषीको नरसंहार भएको दाबी गर्दै त्यहाँको सरकारलाई नवनाजी भएको आरोप लगाएका छन्।
उनको दाबीको कुनै आधार खुलेको छैन भने युक्रेन र पश्चिमा देशहरूले रुसको आरोप युद्धका लागि वाहना मात्रै भएको जिकिर गरेका छन्।







