
अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा आफ्नो निर्वाचन अभियानलाई रुससँग जोडिदिएर हिलरी क्लिन्टन र डेमोक्र्याटिक पार्टीका अन्य नेताहरूले धाँधली गर्न खोजेको आरोप लगाउँदै उनीहरूविरुद्ध मुद्दा दायर गरेका छन्।
उक्त निर्वाचनमा ट्रम्पले क्लिन्टनलाई पराजित गरेका थिए।तर आफ्नो निर्वाचन अभियानविरुद्ध षड्यन्त्र भएको ट्रम्पको दाबी छ।ट्रम्पको अभियान र टोलीलाई रुसी गुप्तचरहरूसँग मिलेर उनको पक्षमा निर्वाचनको परिणाम पार्ने षड्यन्त्र गरेको आरोप लागेको थियो।
सन् २०२० मा रिपब्लिकन पार्टीको नेतृत्वमा रहेको एउटा सिनेट समितिले प्रकाशित गरेको प्रतिवेदनमा रुसले ट्रम्पलाई विजयी हुन सघाउन रिपब्लिकन पार्टीका राजनीतिक कार्यकारी पोल म्यानफोर्ट र विकिलीक्सको वेबसाइट प्रयोग गरेको निष्कर्ष निकालेको थियो।
मस्कोले आफ्नो संलग्नता अस्वीकार गरेको छ।डोनल्ड ट्रम्पको कार्यकालमा अमेरिकी राजनीतिको लेखाजोखाउक्त प्रतिवेदनले षड्यन्त्रबारे कुनै प्रमाण फेला नपरेको उल्लेख गरेको थियो।
यद्यपि ट्रम्पले सम्भवतः न्याय अवरुद्ध हुनेगरी काम गरेको भन्दै केही उदाहरण प्रस्तुत गरेको थियो।मुद्दामा ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनको बेलामा क्लिन्टन र उनका सहयोगीहरूले एउटा “अकल्पनीय षड्यन्त्र” रचेको आरोप लगाएका छन्।
एउटा शत्रुराष्ट्रसँग सम्बन्ध भएको देखाउन खोजेर प्रतिवादीहरूले रिपब्लिकन उम्मेदवार डोनल्ड जे ट्रम्पविरुद्ध “मिथ्या भाष्य” निर्माण गर्ने षड्यन्त्र गरेको दाबी गरिएको छ।
ट्रम्पले प्रतिवादीहरूबाट क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन्।क्लिन्टनले मुद्दाबारे प्रतिक्रिया व्यक्त गर्न बाँकी नै छ।ट्रम्पले आफू २.४ करोड डलर हानि बेहोर्न बाध्य भएको दाबी गरेका छन्।







