
रुसी फौजको नियन्त्रणमा रहेको मारिओपोलका केही भूभागमा पहिलो पटक अन्तर्राष्ट्रिय पत्रकारहरू पुगेका छन्।रोयटर्स समाचारसंस्थाले त्यहाँ प्रलयकारी अवस्था देखिएको भन्दै आवासीय भवनहरू अपार्टमेन्ट ब्लकहरू जम्मै जलेर काला भएका उल्लेख गरेको छ।

कैयौँ दिनसम्म भूमिगत आश्रय लिएर ज्यान जोगाएका परिवारहरू बाहिर निस्कँदै गरेको र शवहरूलाई बाटोकै छेउछाउमा गाडिएको पत्रकारहरूले बताएका छन्।जताततै भग्नावशेष मात्र देखिएको र खानेकुरा तथा खानेपानीको अभाव भएको उनीहरूले बताए।
त्यहाँको अवस्था वर्णन गर्दै एक स्थानीयवासी नदेज्दा सुखोरूकोभाले भनिन्, “गाडी वा केटाकेटीको आवाजविहीन एक मृत सहर जहाँ जलिरहेका घर र यत्रतत्र शव नै शव देखिन्छ।”

हमलामा परी थुप्रै सर्वसाधारण मारिएका छन्। मारिओपोल लगभग चारैतिरबाट रुसी फौजको घेराबन्दीमा रहेको छ।रुसी अतिक्रमणअघि मारिओपोलमा साढे चार लाख मानिसको घर थियो। अहिले तीन लाख मानिस बिजुली, ग्यास अथवा पानीको अभावमा बाँच्न बाध्य भएका छन्।
अधिकारीहरूका अनुसार हमलाका कारण शहरका ८० प्रतिशत घर या त ध्वस्त भएका छन् या त क्षतिग्रस्त भएका छन्।आक्रमण जारी रहँदा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ताका निम्ति पुनः अपील गरेका छन्।BBC







