
काठमाडौं, आज जल दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरि मनाइँदैछ । पछिल्लो समय पानीका मुहान सुक्दै गएको र यसले मानव जीवनसँगै पर्यावरणमा पर्नसक्ने जोखिन न्यूनीकरण गर्न विश्व जल दिवस मनाइँदै आएको हो ।
जल दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश जारी गर्दै
पानीका स्रोतको संरक्षण र पर्यावरण सन्तुलनमा योगदान गर्न प्रेरणा मिल्ने अपेक्षा गरेकी छन् ।
राष्ट्रपतिले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, “पानी र प्रकृतिसँग प्राणी जगत्को अस्तित्व गाँसिएको छ । पृथ्वीमा जीवको उत्पत्ति नै पानीभित्र भयो । प्राचीन मानव सभ्यताहरू नदी किनारमा विकास भए । वर्तमान अवस्थामा आइपुग्दा जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण गर्नु मानव सभ्यताकै निमित्त चुनौती भएको छ । भूमिगत जलस्रोतको पुनःभरणका लागि जलाधार क्षेत्रको संरक्षण गर्ने तथा ग्रामीण भेगमा आहाल, पोखरी र तालतलैयाको निर्माण गर्ने जस्ता परम्परागत विधिको संरक्षण गर्नुपर्दछ ।”
यसैगरी जीवन र जगत्को अस्तित्व रक्षा गर्ने प्रकृति प्रदत्त वरदानका रूपमा रहेको पानीको महत्व, संरक्षण र दिगो प्रयोगका बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९३ देखि प्रत्येक वर्ष मार्च २२ लाई विश्व समुदायले पानी दिवसका रूपमा मनाउँदै आएको छ ।







