
चितवन, निजी क्षेत्रबाट कोरोनाको पिसिआर परीक्षणको अनुमति चितवन मेडिकल कलेजले पाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षणपछि सो कलेजलाई प्रयोगशाला सञ्चालनको अनुमति दिएको छ ।
कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले यही मङ्गलबारसम्ममा प्रयोगशाला सञ्चालनमा ल्याइने बताएका छन । जिल्लामा हालसम्म निजी खर्चमा पिसिआर परीक्षण गर्ने प्रयोगशाला छैन । भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड–१९ प्रयोगशालामा स्वास्थ्य मन्त्रालयले निर्देशन गरेका सम्भावित सङ्क्रमितको मात्र निःशुल्क परीक्षण गरिँदै आएको छ ।
न्यौपानेका अनुसार सरकारले तोकेको एउटा नमूनाको रु ५ हजार ५१० प्रतिशत थप गरी शुल्क लिइने छ । नमूना परीक्षणका लागि रु छ हजार ५० लिइने उहाँले जानकारी दिएका छन । कलेजले भित्र्याइएको पिसिआर उच्चस्तरको हो । ६ घण्टामा ४०० जनाको नमूना परीक्षण गर्न सकिने न्यौपानेको भनाइ छ । कलेजमा पिसिआर परीक्षण गर्न सक्ने सातजना प्राविधिक रहेका छन् ।






