
रौतहट, रौतहटको गरुडा नगरपालिका–८ स्थित जिंगडिया गाउँमा आइतबार घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला परेको छ । २० वर्षीय निरन्जन रामको धारिलो हतियारले घाँटी रेटेर हत्या भएको इलाका प्रहरी गरुडाका डीएसपी ज्ञानकुमार महतोले बताएका छन ।
रामको शव उनको घरबाट केही पर खेतमा फेला परेको हो । ‘घटनामा संलग्नको पहिचान हुँदै छ । हत्यारा चाँडै पत्ता लाग्छ,’ डीएसपी महतोले बताए , ‘घटनाबारे गहिरिएर अनुसन्धान भइरहेको छ ।’
प्रहरीका अनुसार गरुडा, बिर्तामा रहेको नर्सरीमा काम गर्दै आएका राम शनिबार साँझ त्यहाँबाट २ सय रुपैयाँ लिएर घर जान्छु भनी हिँडेका थिए तर उनी राति घर पुगेनन् । बिहान स्थानीयले खेतमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।







