
काठमाडौं, निर्वाचन आयोगले आज बोलाइएको सर्वदलीय बैठकले निर्वाचनको मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
उक्त बैठकमा सहभागी प्रमुख प्रतिपक्षी दल एमालेले निर्वाचनको मिति घोषणा नगरेर सरकारले शंका गर्न बाध्य बनाएको बताएको छ । एमाले उपमहासचिव विष्णु रिमालले स्थानीय तह निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
यसैगरी सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नेमा आफू आशावादी रहेको कांग्रेस नेता रमेश लेखकले बताएका छन् । आजको सो बैठकमा स्थानीय तहको निर्वाचन मिति निर्धारणका साथै आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन तथा मतदाता नामावली अद्यावधिकबारे छलफल भएको थियो ।
आयोगका अनुसार सर्वदलीय बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने १७ दललाई बोलाइएको थियो । तर, सात दलका प्रतिनिधि मात्र उपस्थित भए ।







