
काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व राजा ज्ञानेन्द्रसँग पाँचबुँदे सहमति भएको भनी नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।
बुधबार प्रचण्डले एक विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले गरेको प्रचार गलत रहेको भन्दै खण्डन गरेका हुन् । उनले भनेका छ, “म केपी ओलीलाई पाँचबुँदे सहमति प्रमाणित गर्न चुनौती दिन्छु ।” उक्त विज्ञप्तिमा अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीलाई माक्र्सवाद र कम्युनिस्ट सिद्धान्तबाट धेरै पर पुगेको आरोप पनि लगाएका छन् ।
यसअघि एमाले अध्यक्ष ओलीले बुधबार एक कार्यक्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रसँग पाँच बुँदे सहमति गरेको बताएका थिए । अध्यक्ष प्रचण्डले सो विज्ञप्तिमा अध्यक्ष ओलीको सो प्रचार झूठो हो भन्दै त्यसबाट भ्रमित नहुनसमेत सबैसँग अनुरोध गरेका छन् ।








