
काठमाडौं, नेपाली काँग्रेसको १४ औं महाधिवेशनमार्फत सभापति पदका लागि भएको मतदान नतिजाविहीन बनेको छ ।
प्रधानमन्त्री तथा हालको सभापति शेरबहादुर देउवाले आफ्नो अग्रता कायमै गरेता पनि पार्टी विधानअनुसार ५० प्रतिशत भन्दा बढी मत पाउन नसकेपछि पुनः मतदान हुने भएको छ । दोस्रो चरणको मतदान आजै हुने र मत परिणाम पनि आजै आउने कांग्रेसले जनाएको छ ।
कुल ४६८१ मतदातामध्ये देउवाले २२५८ मत पाएर पहिलो भए पनि ५० प्रतिशत मत पुर्याउन लागि उनलाई ८२ मतले साथ दिएन । दोस्रो स्थान हासिल गरेका डा. शेखर कोइरालाले १७२९ मत प्राप्त गरेका छन् ।
यसैगरी तेस्रो स्थानमा प्रकाशमानसिंहले ३७१ मत पाएका छन् भने विमलेन्द्र निधिले २४९ मत पाएका छन् । सभापतिका अर्का दाबेदार कल्याण गुरुङले २० मत पाएका छन् ।
दोस्रो चरणको चुनावमा विमलेन्द्र निधिले देउवालाई नसघाउने यसअघि नै घोषणा गरिसकेका छन् भने प्रकाशमानको तर्क अझै अझै खुलेको छैन ।







