
रोल्पा, रोल्पामा यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दाङको घोराहीबाट रोल्पाको थबाङ जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस बिहिवार वेलुका ६ बजे माडी गाउँपालिका-४ तालाबाङको तार्केबाङ सडक खण्डमा दुर्घटना भएको हो ।
सो दुर्घटनामा परि तीन पुरुष र एक महिलाको ज्यान गएको हो । जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीक अनुसार तार्केबाङ स्थित जलजला होटेलको नजिकैको सहिद मार्गबाट करिव १ सय फिट तल माडी खोलामा खसेको हो ।
हाल दुईजनाको शव निकालिएको छ भने दुईको शव बसले च्यापेका कारण निकाल्न सकिएको छैन । मृत्यु हुनेमा चालक समेत रहेका छन् । मृतकको सनाखत भैसकेको छैन ।
दुर्घटनामा १८ जना घाइते छन् भने १२ जनाको जना घाइतेको घर्तिगाउँ स्थित स्मृति हस्पिटलमा र ६ जनाको स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिदैछ । स्मृति हस्पिटलमा प्राथमिक उपचारपछि ३ जनालाई रोल्पा अस्पताल रेउघा रेफर गरिएको उद्दारमा सक्रिय युवा पशुपति घर्तिले जनाए । घाईते केहीको अवस्था सामान्य रहेको छ ।
दुर्घटनाको खबर लगत्तै इलाका प्रहरी कार्यालय घर्तिगाउँका प्रहरी प्रमुख शुधिर खडका सहितको प्रहरी र स्थानीय उद्दारमा खटिएका छन् । बस खोलामा आधा भाग डुबेका र अध्याँरोका कारण उद्दारमा कठिनाई भएको छ ।बस के कति कारणले दुर्घटना भएको भन्ने खुलेको छैन । दाङको राप्ती समितिको वस पुर्वी रुकुम र जलजला घुमफिरमा जान रिजर्व गरिएको बुझिएको छ । घोराहीबाट १३ जना यात्रु लिएर हिडेको वसमा बीच बाटोमा अन्य यात्रु चढेका थिए ।







